बुधबार, मंसिर १९, २०८१
Wednesday, December 4, 2024

१४ जना प्रमुख/उपप्रमुख चाहिने पर्वतमा ७५ जना भिड्दै

वैशाख १५,
पर्वत : आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पर्वतमा आवश्यक रहेका पद सङ्ख्या भन्दा तीन गुणा बढीले उम्मेदवारी दिएका छन् ।
पर्वतमा सात ओटा स्थानीय तह र तिनमा ६१ ओटा वडाहरू रहेका छन् । सात स्थानीय तहमा प्रमुख र उपप्रमुख गरेर १४ जना तथा वडाध्यक्ष सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी एउटा वडामा पाँच जनाका दरले ६१ ओटा वडामा तीन सय पाँच जना गरी कुल तीन सय १९ जना जनप्रतिनिधिहरू आवश्यक हुन्छन् ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माका अनुसार तीन सय १९ पदका लागि कुल नौ सय ५७ जनाको उम्मेदवारी दर्ता भएको छ । उनीहरू प्रमुख पदका लागि ४७ जना, उपप्रमुख पदका लागि २८ जना, वडाध्यक्षका लागि दुई सय १४ जना, सदस्यका लागि तीन सय ६८ जना, महिला सदस्यका लागि एक सय ५३ जना र दलित महिला सदस्यका लागि एक सय ४७ जना रहेका छन् ।
स्थानीय तह अनुसार हेर्दा १४ ओटा वडाहरू रहेको कुश्मा नगरपालिकामा सबैभन्दा धेरै उम्मेदवार छन् । प्रमुख पदका लागि आठ जना, उपप्रमुखका लागि सात जना, वडाध्यक्षका लागि ५४ जना, सदस्यका लागि ९१ जना, महिला सदस्यका लागि ३३ जना र दलित महिला सदस्यका लागि ३२ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लाको दोस्रो नगरपालिका फलेवासको प्रमुख बन्नको लागि १० जनाको उम्मेदवारी परेको छ । ११ ओटा वडाहरू रहेको फलेवासमा उपप्रमुखका लागि पाँच जना, वडाध्यक्षका लागि ४० जना, सदस्यका लागि ७० जना, महिला सदस्यका लागि ३१ जना र दलित महिला सदस्यका लागि ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


यस्तै नौ ओटा वडाहरू रहेको जलजला गाउँपालिकाको प्रमुख बन्नका लागि सात जनाले, उपप्रमुखका लागि पाँच जनाले, वडाध्यक्षका लागि ३२ जनाले, सदस्यका लागि ५० जनाले, महिला सदस्यका लागि २३ जनाले र दलित महिला सदस्यका लागि २१ जनाको उम्मेदवारी परेको छ । जिल्लाको दक्षिणमा रहेको पैयुँ गाउँपालिकामा सात ओटा वडाहरू रहेका छन् । जहाँ प्रमुखका लागि सात जनाले, उपप्रमुखका लागि तीन जनाले, वडा सदस्यका लागि २२ जनाले, सदस्यका लागि ४१ जनाले, महिला सदस्यका लागि १६ जनाले र दलित महिला सदस्यका लागि १५ जनाले उम्मेदवारी दिएका छन् ।
छ ओटा वडाहरू रहेको महाशिला गाउँपालिकामा सबै जना गरेर ३२ जना जनप्रतिनिधिहरू हुन्छन् । त्यहाँ कुल ७८ जनाको उम्मेदवारी परेको छ । उनीहरू प्रमुखका लागि चार जना, उपप्रमुखका लागि दुई जना, वडाध्यक्षका लागि १६ जना, सदस्यका लागि २९ जना, महिला सदस्यका लागि १२ जना र दलित महिला सदस्यका लागि १८ जना उम्मेदवारहरू रहेका छन् । मोदी गाउँपालिकाको प्रमुखका लागि सात जनाले, उपप्रमुखका लागि चार जनाले, वडाध्यक्षका लागि २७ जनाले, सदस्यका लागि ४८ जनाले, महिला सदस्यका लागि २१ जनाले र दलित महिला सदस्यका लागि १८ जनाले मनोनयन दर्ता गराएका छन् ।
बिहादी गाउँपालिकाको प्रमुखका लागि चार जना, उपप्रमुखका लागि दुई जना, वडाध्यक्षका लागि २३ जना, सदस्यका लागि ३९ जना, महिला सदस्यका लागि १७ जना र दलित महिला सदस्यका लागि १६ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive