बिहिबार, मंसिर २०, २०८१
Thursday, December 5, 2024

शिक्षाका लागि बजेट बृद्धि गर्न माग गर्दै एनसिई नेपालले बुझायो सुझावपत्र

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ नेपाल) पर्वतले जिल्लाका सबै सातवटा स्थानीय पालिकाहरुलाई आगामी आर्थिक वर्षको बजेटमा शिक्षाका लागि प्राथमिकताका साथ रकम बृद्धि गर्न अनुरोध गर्दै सुझावपत्र बुझाएको छ ।
यसै क्रममा मोदी गाउँपालिकास्थित पातिचौरमा आयोजित एक कार्यक्रममा स्थानीय तहको बजेटमा शिक्षा र प्रतिबद्धता विषयक संवाद सञ्चालनका साथै मोदी गाउँपालिकाका अध्यक्ष हिरादेबी शर्मालाई ११ बुँदे सुझाव\अपिलपत्र हस्तान्तरण गरिएको हो ।
सुझाव\अपिलपत्र ग्रहण गर्दै मोदी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष हिरादेबी शर्माले विगतका वर्षहरुमा पनि आफ्नो पालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको र यस आर्थिक बर्षमा थप बजेटको ब्यवस्था गरी शैक्षिक सुधारमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पालिका प्रमुख शर्माले मोदीको समृद्धि र विकासको मुख्य कडी नै शिक्षा भएकाले आफ्नो टीमले शिक्षाको समुचित सुधार तथा ब्यवस्थापनका लागि जिम्मेवार भएर काम गर्ने बताउनुभयो । उहाँले विगतमा पनि एनसिई नेपालसँग सहकार्य गरी थुप्रै शैक्षिक गतिविधि सम्पन्न गरिएको आफूलाई जानकारी रहेको भन्दै आफ्नो कार्यकालमा त्यसलाई थप प्रभावकारी बनाउँदै समन्वय र सहकार्य गर्ने दावी गर्नुभयो । अध्यक्ष शर्माले स्थानीय तहको निर्वाचनका लागि तयार गरिएको प्रतिबद्धता पत्रमा पनि शिक्षालाई मुख्य प्राथमिकताको क्षेत्र बनाउन आफूहरु तयार रहेको र बार्षिक बजेट तर्जुमाको संघारमा एनसिई नेपाल पर्वतबाट दिइएका सुझावहरुलाई सकेसम्म सम्बोधन गर्ने बताउनुभयो ।
संवाद तथा सुझावपत्र हस्तान्तरण गर्ने कार्यक्रमलाई शिक्षाका लागि राष्ट्रिय नेपालका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले सहजीकरण गर्नुका साथै पालिका प्रमुखलाई सुझाव÷अपिलपत्र हस्तान्तरण गर्नुभएको थियो । पहाडीले मुलुकको समृद्धि, विकास र सम्पन्नताका सबै पूर्वाधारहरुको पनि पूर्वाधार शिक्षालाई मानिएकाले शिक्षामा लगानी गर्न तीनै तहका सरकारहरु हिच्किचाउन नहुने कुरामा जोड दिनुभयो । उहाँले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा गरेका शैक्षिक प्रतिपबद्धता, मुलुकको संवैधानिक ब्यवस्था, दिगो विकास लक्ष्यप्रतिको वचनबद्धतालगायतका कुराहरुलाई पूरा गर्न पनि शिक्षामा लगानी बृद्धि आजको प्राथमिक विषय भएको बताउनुभयो । शिक्षालाई राजनैतिक एजेण्डा बनाएर अघि बढ्दा मात्र समग्र शिक्षा क्षेत्रको सवलीकरण हुन सक्ने तथ्यमा सबैले ध्यानदिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
मोदी गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष बेल बहादुर कार्कीले शिक्षाको सुधारबाट मात्र गाउँ बस्तीको विकासलाई सम्भव बनाउन र नागरिकलाई सभ्य, नैतिकवान, मेहनती र माटोको प्रेम गर्न सक्ने बनाउन सकिने भएकाले आफूहरुको प्राथमिकता शिक्षा नै हुने बताउनुभयो । श्रमको सम्मान गर्ने, प्रविधिमा आधारित, बैज्ञानिक र जीवनोपयोगी शिक्षाका लागि आफूहरुले पहिलो दिनदेखि नै कामको थालनी गर्ने उहाँले दावी गर्नुभयो ।
कार्यक्रममा मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछाने, सबै आठवटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्री, गाउँ शिक्षा अधिकृत झक प्रसाद गौतम, पालिकाका निर्वतमान उपाध्यक्ष सेती महत, पालिकाका विभिन्न शाखाका प्रमुख, कर्मचारीहरु, एनसिई नेपाल पर्वतका सदस्य फुलराज शर्मा, मिलन पौडेललगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा आरम्भ नेपाल, पर्वतका अध्यक्ष तथा एनसिई नेपाल पर्वतका सदस्य आशिष पौडेलले न्यायपूर्ण र समतामूलक समाज निर्माणको मुख्य कसी नै शिक्षाको रुपान्तरण एवम् समयोचित सुधार भएकाले सबै सरोकारवालाहरु शिक्षा सुधारका लागि जवाफदेही बन्नुपर्ने कुरामा जोड दिनुभयो ।
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive