पर्वत : हरितालिका तीजको अवसरमा बुहारी ग्रुप अफ नेपालले डिजिटल प्रणालीमा आधारित खुला तीज गीत÷भिडियो प्रतियोगिता आयोजना गरेको छ।
‘बदलिँदो समाज, बदलिँदो तीज’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा देश तथा विदेशमा रहेका नेपालीले समेत सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन। आयोजकका अनुसार एक समूहमा न्यूनतम ५ देखि अधिकतम १० जनासम्म सहभागी हुन सक्नेछन्। प्रतियोगिताका लागि तयार गरिने भिडियो चार देखि छ मिनेटसम्मको हुनुपर्ने भनिएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने समूहले आफ्नो भिडियो २०८३ भदौ १० गते राति १० बजेसम्म ह्वाट्सएपमा पठाउनुपर्नेछ। आयोजकले भिडियो पठाउँदा सम्बन्धित समूहको नाम, ठेगाना तथा सम्पर्क व्यक्तिको विवरण अनिवार्य रूपमा खुलाउनुपर्ने जनाएको छ। प्रतियोगितामा सामाजिक सञ्जालमा यसअघि नै सार्वजनिक गरिएका भिडियो भने सहभागी गराउन पाइने छैन। मौलिक तथा नयाँ सिर्जनामा आधारित भिडियो मात्रै प्रतियोगिताका लागि स्वीकार गरिने बुहारी ग्रुप अफ नेपालकी संयोजक लक्ष्मी तिवारीले बताइन्।
प्रतियोगितामा प्रथम हुने समूहले२० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने समूहले पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।
संयोजक तिवारीका अनुसार भिडियोको मूल्याङ्कनमा निर्णायक मण्डलको निर्णयलाई ८० प्रतिशत र फेसबुक पेजमा प्राप्त हुने लाइक, कमेन्ट र शेयरलाई २० प्रतिशत आधार बनाइनेछ। तीज पर्वको मौलिकता, सामाजिक सन्देश र बदलिँदो परिवेशलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बुहारी ग्रुप अफ नेपालले जनाएको छ। प्रतियोगितामार्फत नेपालमा मात्रै नभई विदेशमा तीज मनाइरहेका नेपालीलाई समेत जोड्ने लक्ष्य राखिएको छ।
बुहारी ग्रुप अफ नेपालले इच्छुक समूह तथा व्यक्तिहरूलाई प्रतियोगितामा सहभागी भई आफ्नो सिर्जनात्मक प्रस्तुति प्रस्तुत गर्न आह्वान गरेको छ।
डिजिटल माध्यमबाट बुहारी ग्रुपको तीज गीत प्रतियोगिता, जित्नेलाई २० हजार
भदौ ३, २०८३




