पर्वत : प्रदेश अस्पताल बेनी, म्याग्दीमा नवआगन्तुक चिकित्सकहरूको स्वागत तथा अस्पतालमा लामो समय सेवा गरेका कर्मचारीहरूको बिदाइस्वरूप ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा डा. बाँस्तोलाले क्लिनिकल अडिट सम्बन्धि सि.एम.ई कक्षा समेत सञ्चालन गरेका थिए । कार्यक्रममा अस्पताल परिवारका तर्फबाट नवआगन्तुक कन्सल्टेन्ट सर्जन डा. अडिना बाटाजु तथा कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. सुस्मिता श्रेष्ठलाई स्वागत गरिएको थियो ।
त्यस्तै, लामो समयदेखि अस्पतालको डायलासिस शाखामा रही उल्लेखनीय योगदान पु¥याएकी नर्सिङ अधिकृत रमिला तिमिल्सिना तथा फार्मेसी शाखामा कार्यरत मनिषा वि.क.लाई आगामी कार्ययात्राको सफलताको शुभकामना व्यक्त गर्दै ‘फेरि भेटौँला’ गरिएको थियो ।
कार्यक्रममा अस्पतालका चिकित्सक, नर्सिङ तथा अन्य कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले नवआगन्तुक चिकित्सकहरूलाई सफल कार्यकालको शुभकामना दिँदै बिदाइ हुने कर्मचारीहरूले अस्पतालको सेवामा पु¥याएको योगदानको उच्च प्रशंसा तथा सम्मान गरेका थिए ।
स्वागत तथा बिदाइ कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको अस्पतालले जनाएको छ ।
प्रदेश अस्पताल बेनीमा स्वागत तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न
भदौ ६, २०८३




