मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026

पाङमा तीज मेला–२०८३ आयोजना हुँदै

भदौ ९, २०८३
पर्वत : पार्वतीको पवित्र जन्मभूमिका रूपमा परिचित पर्वतको पाङमा यस वर्ष पनि तीज मेला–२०८३ आयोजना हुने भएको छ ।
पाङ युवा क्लबको आयोजनामा आगामी भदौ २८ र २९ गते विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित तीज मेला आयोजना गर्न लागिएको हो । पाङ युवा क्लबले तीज मेला कसैको एकल प्रयासबाट नभई सबैको साझा सहयोग, सहकार्य र जिम्मेवारीबाट सफल हुने भएकाले सम्पूर्ण पाङवासी तथा शुभेच्छुकहरूलाई सहयोग, सुझाव र सहभागिताका लागि आग्रह गरेको छ ।
क्लबका अनुसार भदौ २८ गते उद्घाटन कार्यक्रमसँगै विद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सोही दिन पुरुष तथा महिलाका लागि भाले छोप्ने प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगिताका विजेतालाई पुरस्कार स्वरूप भाले प्रदान गरिनेछ ।
तीजको दिन खुला तीज गीत प्रतियोगिता आयोजना गरिने क्लबले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । तीज मेलाको विशेष आकर्षणका रूपमा दुवै दिन विशेष लाखे नाच समेत प्रस्तुत गरिनेछ । मेला पार्वती चौर, लाखे लाउने डाँडामा सञ्चालन हुनेछ ।
पाङको मौलिक कला, संस्कृति, परम्परा तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको तीज मेला–२०८३ लाई भव्य, सभ्य र व्यवस्थित रूपमा सफल बनाउन पाङ युवा क्लबले सम्पूर्ण पाङवासी, स्थानीयवासी तथा शुभेच्छुकहरूमा सहभागिता र सहयोगका लागि हार्दिक अनुरोध गरेको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive