पर्वत : बडादसैँ, तिहार तथा छठ नजिकिएसँगै बजारमा हुने कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी र गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमनलाई तिब्रता दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वत र एकीकृत सेवा कार्यालय पर्वतको संयुक्त आयोजनामा जिल्ला विभिन्न स्थानका होटेल तथा किराना पसलमा अनुगमन गरी २० हजार ५ सय ५० रुपैयाँ मूल्य बरारबारका म्याद गुज्रेका र अखाद्य बस्तु नष्ट समेत गरेको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षा, गुणस्तरीय वस्तुको उपलब्धता र व्यवसायमा स्वच्छता कायम गर्ने उद्देश्यले अनुगमनलाई तीव्रता दिइएको हो ।
अनुगमनको क्रममा होटल, रेस्टुरेन्ट, किराना पसल, मिठाई पसल संचालहकरुले पालना गर्नुपर्ने नियम उल्लेख गरिएको सचेतना समाग्री समेत वितरण गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलका अनुसार अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुको मूल्य, होटल तथा खाद्य व्यवसायको सरसफाइ, खाद्यवस्तुमा अखाद्य रङको प्रयोग, व्यवसाय दर्ता तथा नवीकरण र म्याद गुज्रिएका सामग्रीको बिक्रीवितरण अवस्थालाई प्राथमिकतामा राखिएको छ ।
एकीकृत सेवा कार्यालय पर्वतका प्रमुख जीवन पौडेलका अनुसार बजारका होटल, खाद्यान्न तथा किराना पसललगायत विभिन्न व्यवसायमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा होटल तथा मिठाई पसलमा सरसफाइको कमी रहेको, खाद्यवस्तुमा अखाद्य रङ प्रयोग गरिएको तथा चाउमिन र मम उत्पादन गर्ने उद्योगले आवश्यक लेबलिङ र प्याकेजिङ नगरी सामग्री बिक्रीका लागि राखेको पाइएको छ । अनुगमन टोलीले केही होटलबाट अखाद्य रङका बट्टा नियन्त्रणमा लिई नष्ट गरेको छ ।
त्यस्तै, आवश्यक लेबलिङ तथा प्याकेजिङ नगरी बिक्रीका लागि राखिएका चाउमिन र मम तथा उपभोग्य मिति समाप्त भएका सामग्रीसमेत बरामद गरी नष्ट गरिएको कार्यालय प्रमुख पौडेलले बताए । जिल्ला बजार अनुगमन समितिले निर्धारण गरेको वार्षिक कार्यतालिकाअनुसार नियमित अनुगमनलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ । गुणस्तर सुधार तथा नापतौल कार्यालय पोखराका प्राविधिकसमेत सहभागी अनुगमन टोलीले व्यवसायीलाई आवश्यक सुझाव तथा निर्देशन दिएको छ ।
सुधार गर्न दिइएको निर्देशन पालना नगरेको पाइएमा उपभोक्ता संरक्षणसम्बन्धी कानुनबमोजिम कारबाहीको दायरामा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । चाडपर्वको अवधिभर बजार अनुगमनलाई निरन्तरता दिइने र त्यसपछि पनि आवश्यकताअनुसार अनुगमन गरिने जनाइएको छ । साथै, उपभोक्तालाई सचेत रहन आग्रह गर्दै सामान खरिद गर्दा मूल्य, गुणस्तर, उत्पादन तथा उपभोग्य मिति र प्याकेजिङमा उल्लेखित विवरण जाँच गर्न आग्रह गरिएको छ ।
बजारमा स्वच्छ प्रतिस्पर्धा कायम राख्न, उपभोक्तालाई ठगीबाट जोगाउन र सुरक्षित खाद्यवस्तुको उपलब्धता सुनिश्चित गर्न सरकारी निकाय, व्यवसायी तथा उपभोक्ताबीच सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
अशोज २४, २०८३




