सोम, फाल्गुन १८, २०८२
Mon, March 2, 2026

नेपाल बन्दले सुनसान पर्वत

फाल्गुन १६, २०७८

फागुन १६, २०७८
पर्वत : सदनबाट एमसीसी पास गरिएको विरोधमा विभिन्न छ राजनीतिक दलहरूले आह्वान गरेको नेपाल बन्दले पर्वत पनि प्रभावित भएको छ।
बागलुङ र म्याग्दीबाट पर्वत हुँदै पोखरा र देशका अन्य ठाउँका लागि छुट्ने सवारीहरू पनि बन्दकै कारण सञ्चालनमा नआउँदा सडकहरू सुनसान बनेका छन्। आइतबारदेखि नै बन्दको आह्वान गरिएका कारण बजारका अधिकांश पसलहरू पनि बन्द अवस्थामा देखिएका छन्। एमसीसीलाई छलफलका लागि संसद् प्रवेश गराउँदाका बेलामा आह्वान गरिएका बन्दले पर्वतमा खासै असर नगरेको भए पनि सोमबारको बन्दले भने प्रभाव पारेको छ।
प्रहरी उपस्थित हुने ठाउँमा साना तथा छोटा दूरीका सवारीहरू फाटफुट रूपमा सञ्चालनमा आएको भए पनि लामो दूरीका सवारीहरू भने सञ्चालनमा आएका छैनन्। प्रहरी भएको ठाउँमा बन्द कर्ताको जोखिम नहुने भए पनि प्रहरीको खासै उपस्थिति नहुने तथा ग्रामीण क्षेत्रबाट सदरमुकाम आउजाउ गर्ने सवारीहरू सञ्चालनमा आएका छैनन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार पर्वत जिल्लाभित्र सञ्चालनमा रहेका साना सवारीहरू बिना अवरोध सञ्चालनमा रहेको भए पनि बागलुङ र म्याग्दीबाट पर्वत हुँदै देशका विभिन्न ठाउँमा जाने सवारीहरू भने चलेका छैनन्। बजारमा पनि आंशिक प्रभाव परेको उनको भनाई छ। ‘म्याग्दी र बागलुङबाट छुट्ने ठुला गाडीहरू खासै आएको देखिएको छैनन्। पर्वतबाट त अन्य जिल्लाका लागि खासै सवारी छुट्दैनन्। तर बजारमा फाटफुट साना सवारीहरू भने चलिरहेका छन्,’ उनले भने, ‘हिजो अस्तिको तुलनामा पसलहरू पनि कम मात्रामा खुलिरहेका छन्। तर बजारमा बन्द कर्ताको उपस्थिति भने देखिएको छैन।’
बन्दको जोखिमकै कारण जिल्लाका विभिन्न गाउँबाट सदरमुकाम आउजाउ गर्ने सवारी सञ्चालन नगरिएको सवारी चालकहरू बताउँछन्। ‘आज त गाडी चलाइएन। यता गाउँतिरबाट बजार जाने कुनै पनि जिप र गाडीहरू चलेका छैनन्,’ फलेवास नगरपालिका–३ शंकरपोखरीबाट सदरमुकाममा सवारी सञ्चालन गर्दै आएका यातायात व्यवसायी राम भुसालले भने, ‘अस्ति अस्तिको बन्दमा बरु चलाइएको हो। त्यति बेला काठमाण्डौं तिर अलि डर थियो। एमसीसी पास भएको हुँदा बन्द कर्ताले बाटैमा तोडफोड गरे भने त वरवाद भो नि!’

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive