बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

एक वर्षअघि शिशुको हत्या गरे, अर्को शिशु जन्माउन आउँदा पक्राउ परे

साउन ७, २०८२

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले नवजात शिशुको हत्या गरेको अभियोगमा कास्कीबाट एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–९ नागढुङ्गामा बस्दै आएका ३७ वर्षीय गोविन्द लामिछानेलाई पक्राउ गरिएको हो ।
२०८१ सालको असोज १३ गते साँझ सवा पाँच बजेको समयमा पोखरा महानगरपालिका–१४ चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा एउटा बेवारिसे जेब्रा झोला परेको थियो । उक्त झोलामा नवजात शिशुको शव रहेको भन्ने सूचनाका आधारमा तत्कालै कास्की प्रहरीले घटनाको विषयमा अनुसन्धान थालेको थियो । झोलामा छोरा जातको नवजात शिशु जेब्रा झोलामा फलाटिनको कपडाले बेरी रातो गुलाबी रङ्गको ब्लाङकेटले बेरिएको अवस्थामा फेला पारिएको थियो ।
उक्त शवको पश्चिमाञ्चल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पोस्टमार्टम गर्दा सोको रिपोर्टमा नवजात शिशुको घाँटी र टाउकोमा लागेको चोटको कारण मृत्यु भएको भन्ने खुलेकोले कर्तव्य गरी मारेको यकिन गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान चलेको थियो ।
घटनामा संलग्न व्यक्तिहरूको अनुसन्धान गर्दै जाँदा बेलकोटगढीका लामिछानेलाई गत आइतबार पक्राउ गरिएको हो । कास्की प्रहरी प्रवक्ता डिएसपी बस्नेतका अनुसार श्रीमतीलाई सुत्केरी व्यथा लागेपछि उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको लागि आएका थिए । त्यही मौकामा लामिछानेलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
आफ्नो आर्थिक अवस्था दयनीय भएकाले पालन पोषण गर्न नसक्ने भएकाले छोरालाई मारिदिएको उनले प्रहरीलाई बयान दिएको कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले बताएका छन् । लामिछानेले यस्तो बताए पनि अन्य कारणहरूको बारेमा अनुसन्धान जारी रहेको उनले बताए । एसपी ओलियाका अनुसार गोविन्दकी श्रीमती सुभद्रा लामिछानेले अस्पतालमै फेरि अर्को बच्चा जन्माएकोले प्रहरीले उनलाई समेत निगरानीमा राखेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive