पर्वत : सामान्य किराना पसलबाट व्यवसाय सुरु गरेर विभिन्न व्यावसायिक क्षेत्रमा पहिचान बनाउँदै प्रदेश सरकारको मन्त्रीसम्मको यात्रा तय गरेका विन्दुकुमार थापा गण्डकी प्रदेशका परिचित राजनीतिक व्यक्तित्व हुन् । बैंकिङ क्षेत्रको लामो अनुभव, उद्यमशीलता, उद्योग वाणिज्य क्षेत्रको नेतृत्व र राजनीतिक संलग्नताले उनको सार्वजनिक जीवनलाई फरक पहिचान दिएको छ ।
नेपाल राष्ट्र बैंकको पोखरा शाखामा करिब १८ वर्ष सेवा गरेका थापाले २०६० सालमा जागिरबाट अवकाश लिएपछि उद्यमशीलताको बाटो रोजेका थिए । सुरुवातमा किराना पसल सञ्चालन गरेका उनले क्रमशः आफ्नो व्यवसायलाई अटोमोबाइल, घरजग्गा, आवास, व्यापारिक मल, वित्तीय संस्था र होटल क्षेत्रसम्म विस्तार गरे । उनी अंशुवरा ग्रुपका अध्यक्षसमेत हुन् ।
व्यवसायसँगै उद्योग वाणिज्य क्षेत्रको नेतृत्वमा पनि थापाको सक्रियता रह्यो । पोखरा उद्योग वाणिज्य सङ्घको सदस्यबाट संस्थागत यात्रा सुरु गरेका उनले सचिव, उपाध्यक्ष हुँदै २०७१ देखि २०७३ सम्म अध्यक्षको जिम्मेवारी सम्हाले। त्यसैगरी नाडाको उपाध्यक्षलगायत विभिन्न व्यावसायिक संस्थामा रहेर पनि उनले काम गरे ।
व्यावसायिक क्षेत्रमा आफ्नो पहिचान बनाइसकेपछि थापा नेपाली कांग्रेसमार्फत राजनीतिमा सक्रिय भए । २०७४ सालको प्रदेशसभा निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएपछि उनको राजनीतिक यात्रा प्रदेशसभामा प्रवेश ग¥यो । २०७८ सालमा उनले गण्डकी प्रदेश सरकारको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीको जिम्मेवारी प्राप्त गरे ।
२०७९ सालको निर्वाचनमा पनि पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका थापाले दोस्रो कार्यकालमा सामाजिक विकास तथा स्वास्थ्य र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व गर्ने अवसर पाए ।
मन्त्रीका रूपमा कार्यरत रहँदा उनले विभिन्न नीतिगत तथा सामाजिक क्षेत्रका काममा सहभागिता जनाए । गुरुङ र मगर भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउनेसम्बन्धी विधेयक पारित हुनुका साथै अपाङ्गता र दलित अधिकारसँग सम्बन्धित कानुन निर्माणमा पनि उनको कार्यकाल जोडिएको छ । त्यस्तै, प्रदेशमै पहिलोपटक दिवा शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याइएको थियो ।
राजनीतिक जिम्मेवारीसँगै सामाजिक सेवामा गरेको आर्थिक सहयोगलाई पनि थापाले आफ्नो सार्वजनिक जीवनको महत्त्वपूर्ण पक्षका रूपमा प्रस्तुत गर्दै आएका छन् । उनका अनुसार २०७८ सालदेखि सांसद तथा मन्त्रीका रूपमा प्राप्त तलब, भत्ता र अन्य सेवा सुविधालाई व्यक्तिगत प्रयोजनमा खर्च नगरी सामाजिक काममा लगाउँदै आएका छन् ।
उनको दाबीअनुसार हालसम्म ९० लाख रुपैयाँभन्दा बढी रकम सामाजिक क्षेत्रमा खर्च गरिएको छ । क्यान्सर तथा मुटुरोगबाट पीडितको उपचार, आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग, शिक्षा, खानेपानी, सडक निर्माण, खेलकुद तथा विभिन्न सामाजिक पूर्वाधारका क्षेत्रमा उक्त रकम परिचालन गरिएको उनले बताएका छन् ।
सरकारबाट उपलब्ध हुने निवास सुविधा नलिई आफ्नै घरमा बस्दै आएका थापाले राजनीतिबाट प्राप्त हुने पारिश्रमिक र सुविधालाई समाजकै हितमा उपयोग गर्ने आफ्नो अभ्यास रहेको बताउने गरेका छन् ।
व्यवसायबाट आर्थिक आधार तयार पारेपछि राजनीतिमा प्रवेश गरेका थापाले सार्वजनिक पदलाई सामाजिक सेवासँग जोड्नुपर्ने धारणा राख्दै आएका छन् । उनका लागि राजनीति केवल पद र जिम्मेवारी प्राप्त गर्ने माध्यम नभई शिक्षा, स्वास्थ्य, पूर्वाधार र विपन्न नागरिकको जीवनस्तर सुधारमा योगदान गर्ने अवसरका रूपमा रहेको छ ।
विन्दुकुमारको व्यावसायिक र राजनीतिक यात्रा : किराना पसलेदेखि प्रदेशको मन्त्रीसम्म
कार्तिक २३, २०८३




