पर्वत : प्रदेश अस्पताल पर्वतको सेवा प्रवाहलाई थप गुणस्तरीय, प्रभावकारी र अत्याधुनिक बनाउने उद्देश्यले निर्माण गरिएको ५० शय्याको नयाँ भवनको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।
अस्पताल परिसरमा आयोजित एक विशेष उद्घाटन समारोहकाबीच प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याम बहादुर परियार (शिव) शिलालेख अनावरण गर्दै उक्त भवनको उद्घाटन गरेका हुन् । समारोहमा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरू, विभिन्न कार्यालयका प्रतिनिधिहरू, चिकित्सक, नर्सिङ स्टाफ तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । नवनिर्मित ५० शय्याको यो अत्याधुनिक भवन सञ्चालनमा आएसँगै पर्वत जिल्ला तथा आसपासका बिरामीहरूले विशेषज्ञ स्वास्थ्य सेवा पाउन थप सहजता हुने छ ।
आधुनिक भौतिक पूर्वाधार र व्यवस्थित व्यवस्थापनसहितको यो सेवाले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पहुँचयोग्य बनाउने छ ।
यसैबिच, नयाँ भवन सञ्चालन तथा व्यवस्थापनका लागि समिति समेत निर्माण गरिएको छ । जसको अध्यक्षमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याम परियार तथा सदस्यहरूमा सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, कोष तथा लेखा नियन्त्रक ज्ञान प्रसाद अर्याल, कुश्मा नगरपालिकाका प्रवक्ता लालकृष्ण शर्मा, अस्पतालका सदस्य थम नारायण पौडेल, नर्सिङ स्टाफ शोभा श्रेष्ठ तथा सदस्य सचिवमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेल रहेका छन् ।
प्रदेश अस्पताल पर्वतमा ५० शय्या क्षमताको नयाँ भवनको उद्घाटन
कार्तिक २०, २०८३




