पर्वत : उमेरले ९५ वर्ष पुगे पनि पर्वतको कुश्मा नगरपालिका–१ पाङका चण्डीप्रसाद रिजालको दैनिकी निकै अनुशासित र प्रेरणादायी छ । उमेर ढल्किँदै जाँदा धेरै ज्येष्ठ नागरिकको दृष्टि कमजोर हुँदै जाने भए पनि रिजालको आँखाको ज्योति भने अझै स्पष्ट छ । सुन्ने क्षमता केही कम भए पनि उनको लेखनप्रतिको लगाव र उत्साहमा कुनै कमी आएको छैन ।
वि.सं. १९८८ साल माघ १ गते जन्मिएका रिजालको बिहानको दैनिकी नित्यकर्मबाट सुरु हुन्छ । नित्यकर्म सकेपछि उनी रामनाम लेखन पुस्तिका लिएर बस्छन् । उनको हातमा कलम र अगाडि पुस्तिका भएपछि एउटै शब्द बारम्बार दोहोरिन्छ– ‘राम, राम, राम ।’ दिनभरि अलिकति समय मिल्नासाथ उनी रामनाम लेख्न थालिहाल्छन् ।
रिजालका लागि रामनाम लेखन अक्षर लेख्ने काम मात्र होइन, यो उनको आस्था, विश्वास र जीवनशैलीको अभिन्न हिस्सा बनिसकेको छ । उनी वि.सं. २०६० सालदेखि निरन्तर रामनाम लेख्दै आएका छन् । रामको नाम लेख्दा जप पनि हुने र मनोकामना सिद्धि हुने उनको विश्वास छ । यही विश्वासले उनलाई दुई दशकभन्दा लामो समयदेखि एउटै कर्ममा निरन्तर जोडिरहेको छ ।
उनले प्रयोग गर्ने रामनाम लेखन पुस्तिकामा एउटा पृष्ठमा ४८१ पटकसम्म ‘राम’ लेख्न मिल्ने गरी साना–साना कोठा बनाइएका छन् । एउटा पुस्तिकामा करिब १६ हजार पटक रामनाम लेख्न सकिन्छ । ती साना कोठाभित्र पनि रिजालले उत्तिकै ध्यान र धैर्यका साथ एउटै शब्द दोहो¥याइरहेका हुन्छन् ।
उनले अहिलेसम्म कति लाख पटक रामनाम लेखिसके भन्ने यकिन हिसाब छैन । लेखेर भरिएका पुस्तिकाको सङ्ख्या यति धेरै भइसकेको छ कि एक भारी पुस्तिका देवघाट धाम लगेर व्यवस्थापन गरिसकिएको छ । त्यसैले उनको वर्षौँदेखिको साधनाको लिखित प्रमाण घरमा मात्र सीमित छैन, देवघाट धामसम्म पुगेको छ ।
९५ वर्षको उमेरमा पनि निरन्तर एउटै काममा समय दिनु उनको धैर्य, अनुशासन र आस्थाको उदाहरण हो । आजको व्यस्त जीवनशैलीमा मानिसलाई केही समय एकाग्र भएर बस्नसमेत कठिन भइरहेका बेला रिजालले भने वर्षौँदेखि रामनाम लेखनलाई आफ्नो दैनिक अभ्यास बनाएका छन् ।
चण्डीप्रसाद रिजाल पाङका चर्चित ज्योतिष स्वर्गीय रमाकान्त रिजालका जेठा छोरा हुन् । उनका पिता रमाकान्त तत्कालीन राजदरबारमा समेत राजा–रानीको भविष्यवाणी गर्ने विश्वासिला ज्योतिषका रूपमा परिचित थिए । ज्योतिष विद्यामार्फत समाजमा पहिचान बनाएका रमाकान्तका छोराहरू पनि समाजसेवामा सक्रिय रहँदै आएका छन् ।
पिताको सामाजिक प्रतिष्ठा र पारिवारिक विरासत बोकेका चण्डीप्रसादको आफ्नै जीवनशैली भने रामनाम लेखनसँग जोडिएको छ । उमेरले शरीरलाई बिस्तारै कमजोर बनाउँदै लगे पनि आस्था र अभ्यासलाई निरन्तरता दिन सकिन्छ भन्ने सन्देश उनको दैनिकीले दिएको छ ।
उनका लागि दिन बिताउने माध्यम मात्र होइन, रामनाम लेखन जीवनको नियमित साधना बनेको छ । ९५ वर्षको उमेरमा पनि कलम समातेर ‘राम’ लेखिरहेका चण्डीप्रसाद रिजालको जीवनले धैर्य, निरन्तरता र आस्थाको एउटा सुन्दर कथा प्रस्तुत गरेको छ ।
रामको नाम लाखौँ पटक लेख्ने अभियानमा ९५ वर्षिय चण्डीप्रसाद रिजाल
कार्तिक १५, २०८३




