पर्वत : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतको प्रथम पूर्ण बैठक, पदस्थापन, सम्मान कार्यक्रम सहित सम्पर्क कार्यालय समेत स्थापना गरिएको छ ।
गत जेठ महिनामा भएको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत भएको मतदानबाट निर्वाचित तथा कतिपय पदहरूमा सर्वसम्मत रूपमा चयन भएकाहरूलाई बुधवार आयोजित पूर्ण बैठक सहितको कार्यक्रममा पदस्थापन गराइएको हो । सोही अवसरमा महाधिवेशनमा पर्वतबाट राष्ट्रिय समितिमा निर्वाचित चिरञ्जीवी अधिकारी र नवराज भुसाललाई सम्मान पनि गरिएको छ । यस्तै १४ औँ जिल्ला अधिवेशनको निर्वाचन मण्डलको भूमिका निभाउने कर्मचारी सङ्गठनको टिमलाई समेत प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ ।
कार्यक्रममा सहभागी भएका गण्डकी प्रदेश सभा सदस्य भक्त बहादुर कुँवरद्वारा सङ्गठनको जिल्ला कार्यसमिति पर्वतको सम्पर्क कार्यालय पनि उद्घाटन गरिएको छ । उक्त कार्यालयको कुश्माकै धनेश्वर चोकमा रहेको छ । सम्पर्क कार्यालयको सुरुवात गर्दै सांसद कुँवरले सङ्गठनले शिक्षकको हकहितका साथै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न र अग्रगामी सङ्घीय शिक्षा ऐन कालागि रचनात्मक भूमिका खेल्नुपर्ने कुरामा जोड दिए ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति सदस्य द्वय चिरञ्जीवी अधिकारी र नवराज भुसाल, नेकपा एमाले जिल्ला कमिटी पर्वतका अध्यक्ष गोविन्द पहाडी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मतिलाल चपाई, नेपाल निजामती कर्मचारी सङ्गठन पर्वतका अध्यक्ष एवं कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदी लगायतका सहभागी वक्ताहरूले सङ्गठनको शैक्षिक तथा पेसागत मुद्दामा महत्त्वपूर्ण भूमिका रहने र सम्पर्क र समन्वयका लागि सम्पर्क कार्यालयको अपरिहार्यताका बारेमा आ–आफ्नो धारणा राखे ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला अध्यक्ष सुरेन्द्र शर्मा गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सचिव देवेन्द्र पौडेलले गरेका थिए ।
सङ्गठनको १४ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र शर्मा गौतम, उपाध्यक्षमा टङ्कलाल भुसाल, सचिवमा देवेन्द्र पौडेल, कोषाध्यक्षमा चन्द्र गिरी लगायत विजयी भएका थिए ।




