मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

हावा र पानीले धान ढलाएपछि चिन्तामा पर्वतका कृषक

कार्तिक १२, २०८२

पर्वत : अब भित्राउने बेला हुन लागेको धान खेतीलाई सोमबारको हावा र मङ्गलवारको वर्षाले प्रभावित पारेपछि पर्वतका कृषकहरू चिन्तामा परेका छन्।
जिल्लाका अधिकांश स्थानहरूमा लगाइएको धान बाली करिब पाक्ने अवस्थामा पुगेको छ। कतिपय स्थानमा धान काट्ने बेला भएको भए पनि कृषकहरूले तिहारपछि काट्ने गरी चाडबाड व्यस्त भएका थिए। मङ्गलवारको वर्षाले कतिपय स्थानमा काटेर सुकाइएको धान भिजाउने, निहिनमा नै धान झार्ने, पराल भिज्ने भएको छ। नकाटेर गरामा नै ठाडो अवस्थामा रहेको धानमा वर्षाले खासै क्षति नगरेको भए पनि सोमबारको हावाले भने धान ढलाएर क्षति भएको छ।
फलेवास नगरपालिका–४ मुडिकुवाका कृषक रघुनाथ गौडेलले आफूले लगाएको हाइब्रिड जातको धान नढलेको भए पनि स्थानीय जातका धानहरू भने ढलेको बताए। हाइब्रिड धान खासै अग्लो नहुने भएकाले क्षति कम भएको तर अग्लो पराल भएका स्थानीय जातका धान भने खेतमै लडेको उनको भनाइ छ।
‘सातबीसे, बाह्रबिसे, नौबिसे, सेरा लगायतका फाँटमा धान ढलेको छ। हाइब्रिड जातको छोटो पराल भएको धान त खासै ढलेको छैन। लामो पराल भएको एक्ले, जेठ बुढो, गुडुरा जस्ता जातका धान खेतमै लडेका छन्’, उनले भने, ‘लगभग २० गतेभित्रमा काटिसक्ने धान हो। १० दिन अगाडि नै ढल्यो। कतिपय धान फूल खेल्ने बेलामा नै ढलिसकेको अवस्था छ। त्यो बेलामा त गेडामा चामल पसेको पनि हुँदैन। पराल पनि काम लाग्दैन। ढलेको धान झन् परेपछि त्यही पानीले कुहाउँछ।’
कृषि ज्ञान केन्द्र पर्वतकी सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत सोविता सुवेदीले हाइब्रिड धानहरू पाकिसकेकोले काटेको र खेतका गरामा नै भिजेको भनेर केही कृषकहरूले जानकारी गराएको बताइन्। काटेर सुकाएका निहिन भिजाएको भन्दा हावाले ढलाएका सूचनाहरू बढी आएको र त्यसमा पनि स्थानीय जातका धानहरूमा बढी क्षति भएको कृषकहरूले बताएको सुवेदीको भनाइ छ।
‘हावाले धान ढलाएका केही खबरहरू पनि आएका छन्। स्थानीय जातका र पराल अग्लो हुने जातका धानहरू ढलेका भनेर जानकारीहरू आएका छन्। छोटो धानमा त्यति धेरै असर गरेको छैन’, उनले भनिन, ‘धान ढलेपछि उत्पादनमा त क्षति भई नै हाल्छ। ढलेको धानको बाला झर्ने, पराल कुहिने, बाला कुहिने जस्ता समस्या पनि आउँछन्। लोकल जातका धान काट्ने बेला नभइसकेकाले अधिकांश ठाउँमा धान ठाडो अवस्थामा रहेको छ।’
नकाटेर खेतमै ठाडो रहेको धानमा भने वर्षाले खासै असर नपारेको तर पूर्ण रूपमा पाकेको धान भने झर्न सक्ने उनको भनाइ छ। धान देख्दा ठाडो भएको र असर परेजस्तो नदेखिए पनि पानीका थोपाले चुट्दा गरामा नै झरेको हुन सक्ने बाली संरक्षण अधिकृत सुवेदीले बताइन्। तर नपाकेको धानमा भने निकै कम असर हुने उनको भनाइ छ। नेपालका मौसमविद्हरूले अनुमान रे अनुसार नै मौसमी क्रियाकलापहरू हुने गरेको भन्दै सुवेदीले मौसमको आगामी अवस्थाका बारेमा जानकारी लिएर मात्रै धान काट्नुपर्ने सुझाइन्। मौसमको अवस्थाका बारेमा बुझेर मात्रै धान सहितका अन्य बाली भित्राउने र लगाउने तयारी गर्नुपर्ने उनको भनाइ छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive