पर्वत : पर्वतको कुश्मा नगरपालिका–१२, ठुलीपोखरीमा अवस्थित श्री देविस्थान प्राथमिक विद्यालयलाई शैक्षिक सुधार तथा व्यवस्थापनका लागि ८० हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ ।
हाल अमेरिकामा रहेका कुश्मा नगरपालिका–३ दुर्लुङका समाजसेवी कुल प्रसाद पौडेलले विद्यालयलाई उक्त सहयोग प्रदान गरेका हुन् । पौडेलको सहयोगमा विद्यालयका लागि दुई थान टेबल, पाँच थान सेतोपाटी, एक थान साउन्ड सिस्टम र एक थान १००० लिटरको पानीको टंकी उपलब्ध गराइएको छ ।
सोमबार एक विशेष समारोहका बीच ती सामग्रीहरू कुश्मा नगरपालिका–१२ का समाजसेवी, युवा व्यवसायी तथा राष्ट्रिय स्वतन्त्र पार्टी, कुश्मा–१२ का सभापति विक्रम लामिछानेले विद्यालयलाई हस्तान्तरण गरेका छन् । उक्त शैक्षिक सामग्रीहरूको व्यवस्थापन र समन्वयमा लामिछानेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरी राज कुँवर र प्रधानाध्यापक शिव बहादुर कुँवरले सहयोगी दाता कुल प्रसाद पौडेल र समन्वयकर्ता विक्रम लामिछानेप्रति विद्यालय परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गरे । विद्यालयको शैक्षिक गुणस्तर सुधारमा यस सहयोगले ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै उहाँहरूले दाता पौडेलको सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
समाजसेवी पौडेलद्वारा देविस्थान प्राविमा ८० हजार बराबरको सहयोग
जेष्ठ १२, २०८३




