आइत, जेष्ठ १०, २०८३
Sun, May 24, 2026

भाषा शिक्षक परिषद्को आयोजनामा नि.मू. कार्यान्वयन गर्न प्रवोधिकरण

जेष्ठ १०, २०८३

पर्वत : पर्वतका विभिन्न स्थानीय तहमा कार्यरत रहेका नेपाली विषयका शिक्षकहरूको लागि निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली भाषा शिक्षक परिषद् पर्वतको आयोजनामा आइतबार पर्वत सदरमुकाम कुश्मा बजारमा आधारभूत तह अन्तर्गत कक्षा ४ र ५ का लागि मूल्याङ्कन सम्बन्धी प्रबोधिकरण कार्यक्रम आयोजना गरिएको हो । कक्षा ४ र ५ को अन्त्यमा लिइँदै आएको वार्षिक परीक्षा प्रणालीको अन्त्य गरी निरन्तर विद्यार्थी मूल्याङ्कनका माध्यमबाट विद्यार्थीहरूको सिकाई उपलब्धिको तथ्याङ्क राख्ने नेपाल सरकारले चालु शैक्षिक सत्रको सुरुवातमा नै घोषणा गरिसकेको छ ।
कक्षा ४ र ५ को अन्त्यमा लिने गरेको बाह्य परीक्षाको अन्त्य गरी आन्तरिक रूपमा मात्रै मूल्याङ्कन गर्ने प्रावधान आएपछि कतिपय अभिभावकहरूले यसले विद्यार्थीहरूको सिकाइमा नकारात्मक प्रभाव पार्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । परीक्षा नै नलिने मानसिकताले विद्यार्थीलाई सिकाइमा प्रोत्साहित नगर्ने बहस चलिरहेको अवस्थामा परिषद् पाठ्यक्रम विकास केन्द्रमा पाठ्यक्रम विकास अधिकृतलाई नै डाकेर निरन्तर मूल्याङ्कन प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि पहल गरेको हो ।
कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रमा नेपाली विषयको पाठ्यक्रम अधिकृतको रूपमा कार्यरत रहेकी इन्दु खनालले निरन्तर विद्यार्थी मूल्याङ्कनको विधि र विकास केन्द्रले चाहेको पद्धतिको बारेमा शिक्षकहरूलाई स्पष्ट पारेकी छिन् । गत शैक्षिक सत्रमा कक्षा १, २ र ३ मा पनि सिकाई उपलब्धिको आधारमा मूल्याङ्कन हुने गरेकोमा अब कक्षा ४ र ५ मा पनि सोही अनुसारको मूल्याङ्कन प्रणाली कार्यान्वयनमा आएको उनको भनाइ छ । पाठ्यक्रमले तोकेको मर्म अनुसारको शिक्षण सिकाई र मूल्याङ्कन प्रणाली नहुने हो भने विद्यार्थीको सिकाइ उपलब्धिमा राज्यले लिएको लक्ष्य पूरा नहुने भएकोले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने सहजकर्ता खनालले बताइन् ।
सिकाइसम्बन्धी विधि र प्रणालीहरूको कार्यान्वयनको अन्तिम चरण कक्षाकोठा नै भएकोले विद्यालयमा हुने अभ्यासले नै विद्यार्थीको सिकाइको दिशा निर्धारण गर्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदीले कुश्मा नगरपालिकाले आधारभूत तहको पाठ्यक्रम सम्बन्धी अभिमुखीकरणका साथै शिक्षकहरूको लागि मूल्याङ्कन फारामहरू समेत वितरण गरेर सिकाइ मापनमा सहजीकरण गर्दै आएको बताए । तर कतिपय विद्यालयहरूमा यसको प्रभावकारी कार्यान्वयनमा कठिनाइ देखिएको भन्दै उनले शिक्षकले जिम्मेवारी पूरा गर्दा मात्रै विद्यार्थीहरूमा सिकाइ उपलब्धि बढ्ने उनको भनाइ छ ।
शिक्षामा भित्रिएका पछिल्ला विधि र प्रविधिको बारेमा शिक्षकहरू पनि अभ्यस्त हुन नसक्ने हो भने अहिलेका विद्यार्थीहरू शिक्षकहरूभन्दा विद्यार्थीहरू अगाडि जाने अवस्था रहेकाले शिक्षकहरू पनि समायनुकुल अभ्यस्त हुनुपर्ने शिक्षा अधिकृत सुवेदीको भनाइ छ । भाषा शिक्षक परिषद्ले नेपाली भाषाको शुद्धता, मूल्याङ्कन प्रणाली, पाठ्यक्रम विकासको अवस्थामा बारेमा पाठ्यक्रम विकास केन्द्रकै विज्ञ डाकेर प्रबोधिकरण गर्नु खुसीको कुरो भएको उनले बताए ।
परिषद् पर्वतका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव झलक पौडेलले गरेका थिए । कार्यक्रममा परिषद्का केन्द्रीय अध्यक्ष सूर्यप्रसाद लम्साल, महासचिव शिवहरि सुवेदी, प्याब्सन पर्वतका अध्यक्ष विमल पौडेल, शिक्षकका पेसागत सङ्घ सङ्गठनका प्रमुखहरू, सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापकहरूको पनि सहभागिता रहेको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive