पर्वत : पूर्ण रुपमा अपाङ्गता हुनुभएका पर्वतको मोदी गाउँपालिका–८ का वैषलाल कामीको परिवारलाई जग्गा प्रदान गरिएको छ ।
पर्वत समाज जापानको आर्थिक सहयोग तथा कलाकार आर सि पैडेलको नेतृत्व एवं सामाजिक अभियान्ता दिपक सुनारको अभियानमा उहाँलाई जग्गा उपलब्ध गराइएको हो । ओत लाग्ने आफ्नै ठाउँ नहुँदा कष्टकर जीवन बिताइरहेको परिवारले राहत महसुस गर्ने भएको छ । शारीरिक रूपमा पूर्ण अपाङ्गता हुनुभएका वैषलालका साथमा ११ वर्षका छोरा र ७५ वर्षीया आमा हुनुहुन्छ ।
मामाघरमा बस्दै आउनुभएका उहाँलाई पारिवारिक बाध्यताले मामाघर पनि छाड्नुपर्ने भएपछि निकै समस्या भएको थियोे । यो परिवारको कारुणिक अवस्था सार्वजनिक भएपछि पर्वतका कलाकार एवं सामाजिक अभियान्ता आर.सी पौडेलको नेतृत्वमा कामीलाई सहयोेग जुटाउने अभियान सुरु भएको थियो । पौडेलकै आह्वानमा पर्वत समाज जापानका स्दस्य पवित्रा बि.क.को संयोेजन तथा अध्यक्ष राम बास्तोला र पूर्वअध्यक्ष सुबास लामिछनेको नेतृत्वमा सहयोेग संकलन सुरु भएको थियोे ।
कुल १ लाख ६० हजार रुपैयाँको लागतमा मोदी गाउँपालिकाकै मल्काहा भन्ने स्थानमा वैषलालका लागि जग्गा खरिद गरिएको होे । उक्त जग्गा स्थानीय नन्दलाल पाध्याकोे नामबाट ५२ वर्षीय वैषलाल कामीको नाममा नामसारी गर्ने गरी दुई पक्षबीच कानुनी तमसुक बनेको छ । नामसारीको प्रक्रिया तत्कालै अगाडि बढाइने तर यो प्रक्रिया पूरा नहुँदै पनि वैषलालले उक्त जग्गामा घर निर्माण सुरु गर्न पाउने सहमति भएको छ । यसले वर्षायाम सुरु हुनुअगावै परिवारले नयाँ घर पाउने भएकोे छ ।
कलाकार पौडेलको सहयोग आह्वानमा वैषलाललाई मिल्यो जग्गा
जेष्ठ २८, २०८३




