सोम, असार २२, २०८३
Mon, July 6, 2026

फलेवास नगरपालिकाले लोगो र गान निर्माणका लागि प्रस्ताव आह्वान

असार २२, २०८३

पर्वत : पर्वतको फलेवास नगरपालिकाले नगरको ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा प्राकृतिक पहिचान झल्काउने नगरको लोगो र नगरगान निर्माणका लागि प्रस्ताव आह्वान गरेको छ ।
नगर कार्यपालिकाको कार्यालयले २०८३ असार १७ गते जारी गरेको सूचनाअनुसार नगर कार्यपालिकाको २०८३÷०३÷०५ गतेको निर्णयबमोजिम नगरपालिकाको पहिचानलाई प्रतिबिम्बित गर्ने लोगो तथा नगरगान तयार गर्न इच्छुक नेपाली नागरिक, संघ–संस्था तथा विज्ञहरूबाट डिजाइन र रचनाको प्रस्ताव माग गरिएको हो ।
सूचनाअनुसार इच्छुक व्यक्तिले आफ्नो डिजाइन तथा रचना निर्धारित समयभित्र नगरपालिकाको कार्यालयमा प्रत्यक्ष बुझाउन वा कार्यालयको आधिकारिक इमेलमा पठाउन सक्नेछन् । छनोट भएका उत्कृष्ट लोगो र नगरगानका स्रष्टालाई नगरपालिकाले उचित पुरस्कारको व्यवस्था समेत गर्ने जनाएको छ ।
नगरपालिकाले लोगो नगरको ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक सम्पदा तथा विशेषतालाई झल्काउने, मौलिक, सिर्जनात्मक र प्रतीकात्मक हुनुपर्ने मापदण्ड तोकेको छ । साथै लोगो रङ्गीन तथा कालो–सेतो दुवै स्वरूपमा प्रयोग गर्न मिल्ने र त्यसको अवधारणाको संक्षिप्त व्याख्या समेत समावेश गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी नगरगानमा नगरको ऐतिहासिक, सांस्कृतिक, भौगोलिक अवस्था, सामाजिक सद्भाव तथा विकासको भावनालाई समेटिएको हुनुपर्ने, मौलिक रचना हुनुपर्ने तथा शब्दसँगै स्वर–संगीतको प्रारम्भिक अवधारणा समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नगरपालिकाले छनोट भएका लोगो तथा नगरगानको सम्पूर्ण स्वामित्व नगरपालिकामा रहने, आवश्यक परे संशोधन वा परिमार्जन गर्न सकिने तथा प्रस्ताव पेश गर्दा रचनाकारको नाम, ठेगाना, सम्पर्क नम्बर लगायत आवश्यक विवरण अनिवार्य रूपमा समावेश गर्नुपर्ने जनाएको छ । साथै थप जानकारीका लागि नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive