पर्वत : जिल्लाको मोदी गाउँपालिका–४ क्याङस्थित क्याङ कर्बाकेली आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि १७ हजार रुपैयाँ बराबरको जुत्ता सहयोग प्राप्त भएको छ ।
स्वर्गीय भवन गर्बुजाको स्मृतिमा उहाँका छोरा धनबहादुर गर्बुजाको स–परिवारले विद्यालयका विद्यार्थीका लागि ३८ जोडी जुत्ता सहयोग गरेको हो । विद्यार्थीहरूको पठनपाठनसँगै खेलकुद तथा शैक्षिक गतिविधिमा सहजता ल्याउने र विद्यालयमा सञ्चालन हुने स्थानीय विषयको प्रयोगात्मक अभ्यासमा सहयोग पु¥याउने उद्देश्यले जुत्ता प्रदान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका अनुसार सहयोगबाट विद्यार्थीहरूको विद्यालय उपस्थितिमा प्रोत्साहन पुग्नुका साथै खेलकुद तथा प्रयोगात्मक सिकाइका गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । विद्यालय परिवारले विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सहयोग पुग्ने गरी जुत्ता उपलब्ध गराएकोमा गर्बुजा परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । विद्यालयले स्वर्गीय भवन गर्बुजाको आत्माको चिरशान्तिको कामना गर्दै उहाँको स्मृतिमा गरिएको सहयोगलाई सामाजिक तथा परोपकारी कार्यका रूपमा प्रशंसा गरेको छ ।
विद्यालयले आगामी दिनमा पनि यस्ता सहयोगले विद्यार्थीको सिकाइ वातावरण थप सहज र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
क्याङ कर्बाकेली आधारभूत विद्यालयलाई १७ हजार बराबरको जुत्ता सहयोग
भदौ ४, २०८३




