शनि, अशोज ३, २०८३
Sat, September 19, 2026

कुश्माका अधिकारीहरूसँग बालबालिकाका प्रश्न

अशोज ३, २०८३
पर्वत : शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, पर्वत र कुश्मामा रहेको प्रगति संस्कार बाल क्लबको आयोजनामा स्थानीय सरकारसँग बालबालिकाको संवाद कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर “बालापनको रक्षा: भविष्यको सुरक्षा“ भन्ने सवालका साथ आयोजना भएको कार्यक्रममा कुश्माका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरूले कुश्मा नगरपालिकाका पदाधिकारीहरूसँग शैक्षिक तथा सामाजिक सरोकारका विषयमा प्रश्न राख्दै जवाफ मागेका हुन् । शिवालय बहुमुखी क्याम्पसका हलमा आयोजनामा भएको संवाद कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल, सामाजिक विकास समितिका संयोजक तथा कुश्मा नगरपालिका–६ का वडाध्यक्ष इश्वर गिरी, नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदी लगायत उपस्थित भएको कार्यक्रममा बालबालिकाहरूले प्रश्न गरेका हुन् ।
नारायण माध्यमिक विद्यालय, शिवालय माध्यमिक विद्यालय, नमुना आवासीय माध्यमिक विद्यालय, पर्वत गुरुकुल एकेडेमी, राष्ट्रिय बाल शिक्षा सदन लगायतका विद्यालयबाट सहभागी भएका विद्यार्थीहरूले शैक्षिक सरोकारका विषयमा अधिकारीहरूसँग प्रश्न गरे । त्यस क्रममा उनीहरूले विद्यालय आसपासमा खुल्ला रूपमा सुर्तीजन्य पदार्थको बिक्री वितरण हुँदा पनि सरोकारवाला निकायबाट नियन्त्रणको प्रयास नभएको, विद्यालयमा कम्प्युटर ल्याबको मर्मत तथा पूर्ण प्रयोग नभएको, विद्यार्थीका लागि खेल मैदानको अभाव रहेको, सेनीटरी प्याड डिस्पोजको व्यवस्थापन नभएको, निकै आर्थिक समस्यामा रहेका विद्यार्थीका लागि अतिरिक्त कक्षा तथा शैक्षिक सामग्रीको व्यवस्थापन नभएको, स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लागू नभएको, बालिकाहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण नदिएको लगायतका विषयमा प्रश्न गरेका छन् ।
ती प्रश्नहरूको जवाफ दिँदै सहभागी अधिकारीहरूले कुश्मा नगरपालिकाले विगतदेखि हालसम्म गरिरहेका प्रयास र आगामी दिनमा गर्न सकिने निर्णयका बारेमा बालबालिकाहरूलाई जानकारी गराएका छन् । प्रमुख प्रशासकीय अधिकृत पौडेल, वडाध्यक्ष गिरी र शिक्षा अधिकृत सुवेदीले विद्यार्थीले उठाएको सवालको जवाफ दिँदै सामुदायिक विद्यालयमा राज्यबाट ठुलो लगानी भएको भए पनि बसाइसराइ र जन्मदरका कारण विद्यार्थी कम हुँदै गएको बताउँदै यसलाई कम गुणस्तर भएको नतिजाको रूपमा हेर्न नहुने बताए । सेनीटरी प्याडको सुरक्षित डिस्पोजका लागि विद्यालयमा मसिन दिइएको र बाँकी विद्यालयमा पुन वितरण गरिने, सुर्तीजन्य पदार्थको बिक्री नियन्त्रणमा सरोकारवाला निकायसँग समन्वय गरिने, समस्यामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्न वडाहरूसँग थप समन्वय गरिने उनीहरूको भनाइ छ ।
नगरपालिकाले सामुदायिक विद्यालयहरूमा स्मार्ट टेलिभजनहरु वितरण गरिरहेको, इन्टरनेटदेखि हरेक प्रकारका सुविधाहरू विद्यालयमा पुगेका बताउँदै अधिकारीहरूले तीन वर्ष अगाडि नै नगरपालिकाका विद्यालयमा स्थानीय पाठ्यक्रम वितरण गरिएको बताए । तर आवश्यक बजेटको अभावमा पाठ्यपुस्तक प्रकाशन गर्न नसकिएको र पाठ्यपुस्तककै अभावमा विद्यालयहरूले पाठ्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसकिरहेको उनीहरूले स्वीकार गरेका छन् ।
सोही अवसरमा बोल्दै शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द पोखरेलले विद्यालय नजिकै रहेका पसलहरूमा कानुन विपरीत सुर्तीजन्य पदार्थको कारोबारको विषयमा विद्यार्थीले उठाएको प्रश्नमा ऐक्यबद्धता जनाउँदै बालिकाहरूलाई आत्मरक्षा तालिम दिनुपर्नेमा विशेष जोड दिए । नगरपालिकाभित्र दुई वटा विद्यालयमा स्रोत कक्षा सञ्चालन भइरहेका र त्यहाँ रहेका बालबालिकाहरूको सुरक्षामा चुनौती रहेकाले नगरपालिकाले कम्तीमा पनि एक÷एक जना सुरक्षा गार्डको व्यवस्थापन गर्नुपर्ने उनको माग छ ।
एन.सी.इ पर्वतका संयोजक आशिष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रगति संस्कार बाल क्लबका संरक्षक रश्मि गौतमले गरेकी थिइन भने सञ्चालन सचिव भीमबहादुर नेपालीले गरेका थिए ।
कार्यक्रममा एनसीई नेपालका निवर्तमान अध्यक्ष राजेन्द्र पहाडी, कुश्मा बहुमुखी क्याम्पसका प्रमुख लेखनाथ उपाध्याय, गैरसरकारी संस्था महासङ्घ जिल्ला शाखा पर्वतका अध्यक्ष कृष्णप्रसाद शर्मा, सचिव बलीनारायण रेग्मी, एनसीई पर्वतका निवर्तमान संयोजक यज्ञप्रसाद शर्मा, दृष्टिविहीन सङ्घ पर्वतका अध्यक्ष हरिदत्त शर्मा, एनसिई पर्वतका उपाध्यक्ष एकनारायण चालिसे र सदस्यलगायतको सहभागिता रहेको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive