पर्वत : गत असोज १० र ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले घरसमेत गुमाएकी नेपाल महिला संघ पर्वतकी जिल्ला सदस्य पुष्पा खत्री केसीले बाढीपीडितको वास्तविक पीडा बुझ्न र राहत तथा पुनर्स्थापनामा केन्द्रित हुन सम्बन्धित सबैलाई आग्रह गरेकी छन्।
बाढीका कारण आफ्नो घर, सम्पत्ति र वर्षौँको मेहनत गुमाएकी केसी अहिले छिमेकीको घरमा आश्रय लिएर बसिरहेकी छन्। बाढीका बेला ज्यान जोगाउनुबाहेक केही गर्न नसकेको र एक जोर कपडासमेत निकाल्न नपाएको पीडादायी अनुभव उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी हुन्। ऐतिहासिक फर्से बजार बाढीले उजाड बनाएको उल्लेख गर्दै उनले विपत्तिपछि वास्तविक पीडितको उद्धार, राहत, पुनर्स्थापना र बस्ती संरक्षणमा ध्यान दिनुपर्ने बताएकी छन्।
तर, यस्तो संवेदनशील समयमा पनि आरोप–प्रत्यारोप, व्यक्तिगत रिसइबी र राजनीतिक स्वार्थका विषयले प्राथमिकता पाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन्। केसीले बाढीबाट भएको क्षतिलाई बालुवा तथा गिट्टी उत्खननसँग जोडेर विभिन्न आरोप लगाइरहेको विषयमा तथ्य र प्राविधिक अध्ययनका आधारमा निष्कर्ष निकाल्नुपर्ने धारणा राखेकी छन्। उत्खननका कारण क्षति भएको प्रमाणित भए निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने, तर प्रमाणबिना कसैलाई दोषी करार गरेर प्रचार गर्नु उचित नहुने उनको भनाइ छ।
उनले कालीगण्डकी नदीको प्राकृतिक बहाव क्षेत्र, नदी कटान तथा अत्यधिक वर्षाका कारण उत्पन्न जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता पनि औँल्याएकी छन्। नदी किनारका बस्ती जोगाउन आवश्यक तटबन्ध निर्माण, दीर्घकालीन संरक्षण योजना र स्थानीय स्रोतसाधनको उचित व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको माग छ। “हामीले आफ्नो घर गुमाएका छौँ, सम्पत्ति गुमाएका छौँ, वर्षौँको मेहनत र सपना गुमाएका छौँ,” भन्दै केसीले आफूहरूलाई व्यक्तिगत रिसइबीभन्दा पनि सुरक्षित बस्ती, वास्तविक पीडितको पुनर्स्थापना र भविष्यको सुनिश्चितता आवश्यक रहेको उल्लेख गरेकी छन्।
उनले फर्से बजारसहित कालीगण्डकी किनारका जोखिमयुक्त बस्तीको संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै वास्तविक पीडितको आवाज सुन्न र तथ्यका आधारमा समस्या समाधान गर्न आग्रह गरेकी छन्। “बाढीले हाम्रो घर र सपना बगायो, तर सत्य बोल्ने साहस बगाउन सकेन। अब वास्तविक पीडितको आवाज सुन,” केसीले आफ्नो फेसबुक सन्देशमा लेखेकी छन्।




