मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

कांग्रेस गण्डकी प्रदेश : सभापतिमा पर्वतका अर्जुन र कास्कीका शुक्रराजबीच प्रतिस्पर्धा

मंसिर १८, २०७८

पर्वत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश समितिको सभापतिका लागि पर्वतका अर्जुनप्रसाद जोशी र कास्कीका शुक्रराज शर्माबीच प्रतिस्पर्धा हुने भएको छ।

शुक्रवार मनोनयन दर्ताका क्रममा सभापतिका लागि देउवा–सिटौला समूहबाट जोशी र पौडेल–कोइराला समूहबाट शर्मा चुनावी प्रतिस्पर्धामा जाने भएका हुन्। संस्थापन पक्षबाट सुरुबाट नै जोशी एकल उम्मेदवारका रूपमा देखिएर उम्मेदवारी घोषणा गरेको भए पनि संस्थापनइतर समूहबाट लामो मिहिनेतपछि शर्मा उम्मेदवार बन्ने टुङ्गो लागेको हो।

इतर समूहबाट कास्कीका यज्ञबहादुर थापा, देवराज चालिसे, नवलपुरका महेन्द्रध्वज जिसी र तनहुँका रघुनाथ पौडेलले सभापतिमा उम्मेदवारीको घोषणा गरेपछि इच्छुकहरूबाट साझा उम्मेदवार तय गर्न कठिन भएको थियो।

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला नै पोखरामा आएर आकाङ्क्षीहरूको बीचमा छलफल गरेपछि बिहीबार साँझ शर्मालाई इतर समूहबाट सभापतिको उम्मेदवार घोषणा गरिएको हो।

हाल केन्द्रीय सदस्यसमेत रहेका देउवा समूहका जोशी पहिले कांग्रेसको जनसम्पर्क समिति प्रमुख रहेका थिए भने अहिले स्थानीय तह समन्वय विभागका संयोजक छन्। तीन कार्यकालका लागि १६ वर्ष कांग्रेस पर्वतको सभापतिसमेत भएका उनी तीनै पटक सांसद बनेका थिए। जोशी पर्वत कांग्रेससहित केन्द्रीय रूपमा पनि प्रभावशाली नेता मानिन्छन्।

गण्डकी प्रदेशमा कांग्रेसलाई एकजुट बनाएर लैजान आफूले सभापतिमा उम्मेदवारी दिएको उनको भनाई छ।

सभापति शेरबहादुर देउवाले पार्टीलाई एक नम्बर बनाउन थालेको अभियानलाई सहयोग पुर्‍याउन आफूले उम्मेदवारी दिएको बताउँदै जोशीले उम्मेदवारी घोषणाको बेलामा आगामी निर्वाचनमा गण्डकी प्रदेशमा बहुमत ल्याउने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाएका थिए।

इतर समूहबाट उम्मेदवार रहेका कास्कीका शर्मा कास्की कांग्रेसका पूर्वसभापति हुन्। उनले पनि १७ वर्षसम्म कास्की कांग्रेस हाँकेका थिए। इमानदार छविका नेता भनेर चिनिएका शर्मालाई सभापति देउवाले समेत कुशल संगठककै रूपमा चिन्ने कांग्रेस स्रोत बताउँछ।

उनकै सक्रिय नेतृत्वमा कास्की कांग्रेसले ०५६ सालको आम निर्वाचनमा कास्कीका तीनै निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेको थियो। नेता शर्माले पनि आफ्नो पूरै जीवन पार्टीको सङ्गठन निर्माणमा बितेको र अब ठूलो आकाङ्क्षा नभई गण्डकी प्रदेशलाई कांग्रेसमय बनाएर युवा पुस्तालाई जिम्मा लगाउने एक मात्र इच्छा रहेको बताउँदै आएका छन्।

निष्ठावान् कार्यकर्ता संरक्षण गर्ने आफ्नो मूल दायित्व रहेकाले आफू सभापतिको उम्मेदवार बनेको उनको भनाई छ।

यस्तै २ उपसभापतिमा ४ जनाको उम्मेदवारी परेको छ। जसमा देउवा समूहबाट मेखलाल श्रेष्ठ र  नेत्रबहादुर महत छन् भने पौडेल समूहबाट हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीको उम्मेदवारी परेको छ।

२ महामन्त्रीका लागि कुमार खड्का र ईश्वर पाण्डे संस्थापन समूहबाट छन् भने इतर समूहबाट किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेको मनोनयन दर्ता भएको छ। एक जना महिला सह–महामन्त्रीमा संस्थापनबाट ओमकला गौतम र इतर समूहबाट कोपिला रानाभाटको उम्मेदवारी परेको छ।

यसै गरी सह–महामन्त्री एक जना खुलामा देउवा समूहबाट राजनराज पन्त र झुलबहादुर आले तथा पौडेल समूहबाट रामचन्द्र जोशी र रमेशकुमार पाण्डेको मनोनयन दर्ता भएको छ भने युवराज बस्ताकोटी र गणेश सापकोटाले प्यानल बाहिरबाट उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेशका ११ जिल्लाबाट प्रत्यक्ष ११ जना खुला सदस्य पदमा डम्बरजंग गुरुङ (कास्की), अर्जुन पौडेल (कास्की), अर्जुनप्रकाश अर्याल (स्याङ्जा), अशोक बस्ताकोटी (नवलपरासी : बर्दघाट सुस्ता पूर्व), द्रोण वन सन्यासी (नवलपरासी : बर्दघाट सुस्ता पूर्व), हरिप्रसाद बराल (लमजुङ), जीवनकुमार श्रेष्ठ (लमजुङ), ध्रुवप्रसाद खनाल (गोरखा), पूर्णबहादुर दाहाल (गोरखा), शिव केसी (म्याग्दी), अनोद श्रेष्ठ (म्याग्दी), इन्द्रराज पौडेल (बागलुङ), नवराज पौडेल (बागलुङ), लक्ष्मीप्रसाद आचार्य (तनहुँ), गिरिराज गौतम (पर्वत) गरी १५ जनाको उम्मेदवारी परेको छ।

११ जिल्लाबाट छानिने ११ जना महिला सदस्यमा लालीमाया शर्मा (कास्की), अप्सरा श्रेष्ठ (कास्की), विमला गौचन (म्याग्दी), अमृतदेवी बानिया (म्याग्दी), धनकुमारी गुरुङ (लमजुङ), छुपीमाया गुरुङ (लमजुङ), सरस्वती तिमिल्सिना (नवलपरासी : बर्दघाट सुस्ता पूर्व), सीता कुँवर (नवलपरासी : बर्दघाट सुस्ता पूर्व), मिना अधिकारी (गोरखा), शोभा अधिकारी (गोरखा), मायादेवी राना आले (तनहुँ), कल्पना पाठक हमाल (बागलुङ), गीता श्रीस (बागलुङ), मिनाकुमारी केसी (पर्वत), रीना राना थापा (पर्वत), कविता तिवारी गैरे (स्याङ्जा), विमला श्रेष्ठ (स्याङ्जा) र पुष्पा भट्टचन शेरचन (मुस्ताङ) गरी १८ जनाले मनोनयन दर्ता गराएका छन्।

thahakhabar.com

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive