पुस २८, २०७८
पर्वत : प्रेस चौतारी पर्वतको बुधवार भएको छैटौँ अधिबेसनबाट पत्रकार कृष्ण अखेली अध्यक्षमा चुनिएका छन्।
अधिवेसनबाट पदाधिकारीहरु अन्तर्गत उपाध्यक्षमा सुवास लामिछाने, समावेशी उपाध्यक्षमा रमा सुवेदी (शान्ति), सचिवमा दिपेश सुनार, कोषाध्यक्षमा विकासराज पौडेल, सहसचिवमा राजन पौडेल र पूजना शर्मा चयन भएका छन्। अधिबेसनले १७ सदस्यीय समिति निर्माण गरेको हो।
बनभोज कार्यक्रम सहित आयोजना गरिएको अधिबेसनको अवसरमा बोल्दै नेकपा एमालेकी केन्द्रिय सदस्य तथा पर्वत ईञ्चार्ज कल्पना चापागाईँले प्रेस चौतारी नेकपा एमालेकै एउटा संगठन रहेका कारण चौतारीमा आवद्ध रहेका पत्रकारहरुले पार्टीका राम्रा कामहरु बाहिर ल्याउनसक्नु बताईन्। बोल्नेको पिठो बिक्ने र नबोल्नेको चामल पनि नबिक्ने प्रसङ्क निकाल्दै उने प्रेस चौतारीले आफ्नो माउ पार्टीले गरेका राम्रा कामहरुको खुलेर लेख्न अनुरोध गरिन्। पार्टीका बारेमा झुटा समाचार नलेखी भएका कुरालाई मात्रै बाहिर ल्याए हुने उनको भनाई छ। छ्ट्टै पार्टी खोलेर गएकाहरु देशी विदेशीहरुको जालमा फसेको चापागाईँको दावी छ।
प्रेस चौतारी पर्वतले राम्रो काम गरिरहेको भनेर खुसी व्यक्त गर्दै उनले आफू पनि सञ्चार उद्यमी भएका कारण पत्रकारहरुको पीडाका बारेमा आफू जानकार रहेको चापागाईँको भनाई छ। ‘म पनि सञ्चार उद्यमी भएका कारण तपाईँ पत्रकारहरुसँगसँगै यात्रा गरिरहेकी छु। सञ्चार गृह र पत्रकारहरुले भोगिरहेका पीडाका बारेमा म जानकार छु। यहाँ तलबै खुवाउन नसकिने अवस्था रहेको मैले पनि भोगेकी छु,’ उनले भनिन्, ‘कोभिडका कारण बजारको स्थिति झनै बिग्रिएको छ। कर्मचारीहरुलाई तलब नै खुवाउन नसकिने अवस्था मिडियाको रहेको छ ।’
कार्यक्रममा एमाले केन्द्रिय तथा प्रतिनिधि सभाका सदस्य पदम गिरी, नेकपा एमाले पर्वतका अध्यक्ष राजु पौडेल, सचिव गोविन्द पहाडी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, इन्द्र पौडेल र माधव बराल, प्रेस चौतारी कास्कीका अध्यक्ष शुष्मा पौडेल, म्याग्दीबाट अमृत बास्कुने लगायतको सहभागिता रहेको थियो।