माघ २७, २०७८
पर्वत : पर्वतको फलेवास नगरपालिकाले बिहीबारका लागि नगरपालिकाभित्र सार्वजनिक बिदा दिएको छ ।
बुधवार नगरपालिकाको दशौँ नगर सभा सम्पन्न भएको उपलक्ष्यमा नगरपालिका भित्रका सरकारी कार्यालय, विद्यालय तथा सार्वजनिक सङ्घ संस्थाहरूमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद श्रेष्ठले बताए ।
नगर सभाको तयारीमा जुट्दा कर्मचारी र जनप्रतिनिधिहरूमा कार्य बोझ हुने भएका कारण पनि नगर सभा सम्पन्न भएको भोलिपल्ट विगतदेखि नै बिदा दिने गरिएको र अहिले पनि सोही अनुसार सार्वजनिक बिदा दिइएको उनको भनाई छ ।
‘विगतदेखि नै नगर सभाको भोलिपल्ट बिदा दिने गरिएको हो। नगर सभा सम्पन्न गर्न खटिने क्रममा कर्मचारीदेखि जनप्रतिनिधिहरूमा कार्य बोझ भएको हुन्छ । एक दिन रेस्टका लागि पनि बिदा दिइएको हो,’ उनले भने, ‘नगर सभा सम्पन्न हुनुलाई पर्वका रूपमा पनि लिन सकिन्छ । स्थानीय तहले यति नै बिदा दिने भन्ने नभए पनि विगत अनुसार नै अहिले पनि बिदा दिइएको हो ।’