बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

८० वर्षे जोडीलाई जिपलाइनले लोभ्याएपछि

फागुन १४, २०७८
पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको ‘सुपरम्यान’ शैलीको विश्वकै दोस्रो दाबी गरिएको ‘हार्नेश जिपलाइन’ मा शुक्रवार मध्यान्ह काठमाण्डौँको एउटा जोडी आयो । उनीहरू थिए ८० वर्षिय ईश्वरी प्रधान र ७५ वर्षिया मदन कुमारी प्रधान ।
पर्वतको जिपलाइनको बारेमा फेसबुकमा देखेका उनीहरूलाई त्यहाँको रमाइलोको कौतुहलताले कुतकुत्याइरहेको थियो। जिपलाइनकै लागि काठमाण्डौँबाट पर्वतको यात्रा तय गर्न नसकेका उनीहरु कुश्मा बजारमा रहेका आफन्तलाई भेट्नको लागि पर्वत आएका थिए । फेसबुकमा देखेको दृश्यलाई आँखाले प्रत्यक्ष नियाल्ने र अनुभव समेत लिन पाइने मौकालाई खेर जान नदिने सोच बनाएका उनीहरू जिपलाइनमा पुगेर अवलोकन गरेपछि आफूहरूले पनि जिपलाइन गर्ने आँट गरेको सुनाए ।
जिपलाइनमा रहेका प्राविधिकहरूले जिपलाइन गर्न बुबाले देखाएको आँटलाई पत्याएको भए पनि ७५ वर्षिया आमाले आँट गर्लिन् भनेर सोचेका थिएनन् । उमेरले पाको बनेको बेलामा कालीगण्डकी नदीको सतह र कहालीलाग्दो भिरबाट झन्डै १६ सय मिटरको लम्बाइमा जिपलाइन गर्नका लागि उस्तै साहसको पनि आवश्यकता छ । बुढेसकालको जोडीले बुढेसकालमै भए पनि आफूमा त्यो आँट रहेको बताएपछि जिपलाइनका ‘क्रू मेम्बर’ पनि अचम्ममा परे ।
‘यो भन्दा अगाडि पर्वतकै ७० वर्षिय बुबा कृष्णप्रसाद आचार्यले पनि जिपलाइनको अनुभव लिनुभएका कारण ८० वर्षिय बुबाले त सक्नुहुन्छ भन्ने नै लागेको थियो । तर ७५ वर्षकी आमाले पनि आफूमा आँट आएको बताउँदा सुरुमा त हामीले पत्याउनै सकेनौँ,’ जिपलाइनका सञ्चालक राजकुमार बस्नेत भन्छन्, ‘आमालाई स्वास्थ्यमा समस्या आउला की भन्नेमा पनि डर लाग्यो । तर उहाँले ढुक्कका साथ आफूलाई तयार पारेपछि जिपलाइनको आनन्द लिनुभयो। सहासिक खेलको इतिहासमा नेपालका लागि यो बिरलै होला भन्ने लाग्छ ।’
मौकाले पर्वत आएको बेलामा साहसिक खेलमा रमाउनकै लागि आफूहरू जिपलाइनमा पुगेको मदन कुमारीले बताइन् । परीक्षण गरेर सबैले रमाइलो गरिरहेको ठाउँमा जिपलाइन गर्नको लागि आफूमा कुनै डर नभएको र जीवनमा एक पटक फरक खालको आनन्द लिनको लागि आफूले आँट गरेको उनको भनाई छ । ‘उमेरले ७५ काटियो अब यस्तो मौका मिल्ला भन्ने पनि छैन, अब ज्यानले सक्ला भन्ने पनि लाग्दैन। सबैले आनन्द लिएको ठाउँमा मलाई पनि त्यस्तै गर्न मन लाग्यो,’ उनी भन्छिन्, ‘फेसबुकमा तारमा भुण्डिएर मान्छे बगेको देख्दा मलाई नि रमाइलो लागेको थियो। आफन्तकोमा आएको मौका पारेर हामी नि आइयो ।’ आफूहरू बुढेसकालमा रहेको भए पनि नेपालमा बल्ल पर्यटन र त्यसमा पनि डर लाग्ने खालका संरचना बनेकोमा आफूलाई खुसी लागेको मदन कुमारीको भनाई छ ।
सामान्यतः साहसिक खेलहरूमा पाका उमेरका व्यक्तिहरू रमाएको देखिँदैन, तर पर्वतको जिपलाइनमा भने अहिलेसम्म ७० वर्ष उमेर पार गरेका तीन जनाले जिपलाइनको साहस जुटाएका छन् । ज्येष्ठ नागरिकले समेत आँट गरेको देखेपछि ‘हार्नेस जिपलाइन’ ले साना बालबालिकाहरूका लागि समेत ‘मिनी जिपलाइन’ निर्माणको काम गरिरहेको कम्पनीका निर्देशक सुनिल बानिया बताउँछन् । अहिले दैनिक ४० जनासम्मले जिपलाइन गरिरहेको बताउँदै उनले पर्यटकहरूको आकर्षण बढेका कारण संरचना निर्माण पनि थप लगानी हुँदै गएको उल्लेख गरे । ‘वृद्ध उमेरमा भएकाहरूको त आकर्षण बढेको छ भने अरूलाई नलोभ्याउने त कुरै भएन। ७० उमेर पार गरेकाहरूले गरेको आँटबाट हौसिएका छौँ,’ उनले भने, ‘वृद्धको आकर्षण भएको ठाउँमा बच्चाको पनि हुन्छ भनेर ‘मिनी जिपलाइन’ को समेत निर्माण गरिएको हो । लगानी पनि बढ्दै गएको छ ।’
कालीगण्डकी नदीको सतहदेखि झन्डै दुई सय ५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको करिब १६ सय मिटरको दूरी पार गर्दा पवित्र कालीगण्डकी नदीलाई दुई ठाउँमा ‘क्रस’ गर्नुपर्छ । कुश्मा नगरपालिका–५ चाक्लेको डिलबाट सुरु हुने जिपलाइन कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरको रिसोर्टमा पुगेर ‘ल्यान्ड’ हुन्छ। नेपालमा हालसम्म ‘सुपरम्यान’ शैलीको जिपलाइन नभएको र कालीगण्डकी नदीमाथि बनेका कारण पनि पर्वतको जिपलाइनमा पर्यटकहरूको आगमन राम्रो रहेको कम्पनीका अध्यक्ष विदुर पौड्याल बताउँछन् ।
क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ । यो जिपलाइनमा एकै पटकमा दुई जना सँगै झुन्डिन मिल्छ भने जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलोसम्म तौल धान्न सक्ने अध्यक्ष पौड्यालको भनाइ छ ।

 

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive