फागुन २४, २०७८
पर्वत : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुनी रूपमा महिलाका अधिकारहरू बलिया रहेका भए पनि कार्यान्वयनको अवस्था भने फितलो रहेको बताउनुभएको छ ।
आज मनाइएको एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जको आयोजनामा पर्वतमा राखिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नेपालका कानुन र व्यवस्थामा महिलाको अधिकारको विषयमा धेरै कुराहरू लेखिएको बताउनुभयो । तर कागजका टुक्रामा हुँदैमा अधिकार पाएको हुने भन्ने नहुने भएकाले सबै जना त्यसको कार्यान्वयनमा लाग्नु अपरिहार्य रहेको अध्यक्ष तिमिल्सिनाको भनाई छ ।
पुरानो समयमा नेपाल मात्रै नभई बाहिर पनि महिलालाई फरक तरीकाले हेरिएका कारण बिना तलब काम गर्नुपर्ने तथा मताधिकार समेत नहुने गरेको सम्झिँदै उहाँले अहिले कानुनी रूपमा परिवेश बदलिएका कारण अब सबैले अठोट गरेर संविधान, ऐन र कानुन कार्यान्वयन गर्न गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
यस्तै प्रतिनिधि सभाका सदस्य पदम गिरीले विभिन्न आन्दोलनका उपलब्धि र क्रान्तिले महिलाको स्तर र अवस्थामा क्रमिक सुधार ल्याउँदै गरेको बताउनुभयो । इतिहासको तुलनामा अहिलेको अवस्थामा बोल्न, नेतृत्व गर्न, सामाजिक क्षेत्रमा सक्रिय हुन, रोजगारीमा सहभागी हुन लगायतका कुरामा उपलब्धि भएको उहाँको भनाई छ । तर संविधान र कानुनले जे जति मात्रामा हक र अधिकार दिएको छ त्यो भने कार्यान्वयनमा नरहेको भन्दै सांसद गिरीले आमाको नामबाट नागरिकता बन्नुपर्ने अवस्था हुनुपर्ने माग गर्नुभयो ।
यसैबीच, सोही कार्यक्रममा पर्वतका सरकारी कार्यालयका प्रमुख छ जना सहित आठ जना महिलाहरूलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, कृषि ज्ञान केन्द्र कार्यालयकी प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापा, जिल्ला कारागार कार्यालय पर्वतकी प्रमुख शिला श्रेष्ठ, जिल्ला हुलाक कार्यालय पर्वतकी प्रमुख सरिता अधिकारी, जिल्ला नापी कार्यालय पर्वतकी प्रमुख निशा अधिकारी, घरेलु तथा साना उद्योग कार्यालयकी प्रमुख मुना अधिकारी, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयकी सञ्चालक ब्रह्मकुमारी सावित्री बराल र होटेल वन्दना प्रालि कुश्माकी सञ्चालक सरस्वती श्रेष्ठ रहनुभएको छ ।
प्रतिस्पर्धी बजारमा पनि कडा मिहिनेतको अध्ययन र सिकाइबाट कार्यालय प्रमुख बन्न सकेको र उनीहरूको उदाहरणले अन्य महिलाहरूलाई पनि निजामती क्षेत्रमा प्रवेश गर्न वा महिला कमजोर हुँदैनन् भन्ने पुष्टि गर्न सकिएका कारण उनीहरूलाई सम्मान गरिएको रेडियोकी अध्यक्ष चापागाईँले बताउनुभयो ।