चैत ८, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले पूर्वाधारको विकासले मात्रै शैक्षिक गुणस्तर कायम नहुने भएकाले भौतिक विकाससँगै शैक्षिक गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताएका छन्।
जिल्लाको कुश्मा नगरपालिका–१ पाङ स्थित खरिबोट गोबिन्दनाथ देव शर्मा माध्यमिक विद्यालयमा निर्माण भएको चारकोठे भुकम्प प्रतिरोधी भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। विद्यालय भवन र कुश्मा नगरपालिकाको आर्थिक सहयोगमा निर्मित विद्यालयको प्रवेशद्धारको उदघाटनका अवसरमा नगर प्रमुख जोशीले गुणस्तरीय शिक्षाको लागि समुदायको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। सामूदायिक विद्यालयका समस्याहरुको बारेमा आफु जानकार रहेको र सकेसम्मका समस्या कुश्मा नगरपालिकाले समाधान गर्दै आएको उनको भनाई छ।
कतिपय नीतिगत व्यवस्था आफ्नो नगरको अधिकार क्षेत्र भित्र नरहेको हुनाले सबै समस्याको समाधान भने हुन नसकेको जोशीको भनाई छ। सामूदायिक विद्यालयको गुणस्तर र पूर्वाधार विकासमा गुणात्मक विकास भएपनि अझै पनि बिद्यालयहरुको दरबन्दि मिलानमा समस्या रहेको नगरप्रमुख जोशीले बताए। सरकारले बिगत २० वर्षदेखि दरबन्दी बढाउने काम अगाडी नबढाउँदा कुश्मा नगरपालिकाका अधिकाँश बिद्यालयमा दरबन्दीको समस्या रहेको उनको भनाई छ। नगरप्रमुख शर्माले कुश्मा नगरपालिकामा पाँच वर्षे कार्यकाल सकिँदै गर्दा आफ्नो काममा कहीँ कतैपनि राजनीतिक भेदभाव नगरेको चर्चा गर्दै सामूदायिक विद्यालय सबैको साझा थलो भएको हुनाले कसैले पनि राजनीतिक प्रतिसोध साच्न नहुने कुरामा जोड दिए।
नगर शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले सामूदायिक विद्यालय समूदायको सम्पत्ति रहेको बताउँदै यिनीहरुको संरक्षण र रेखदेखमा समूदायले खेलेको भूमिका उल्लेखनिय रहेको बताए। सामूदायिक विद्यालय प्रविधि तर्फ उन्मुख हुन आँफैमा सुखद पक्ष रहेको बताउँदै तिवारीले कुश्मा नगरपालिकाका विद्यालयहरु प्रविधिमैत्री, पूर्वाधार युक्त र गुणस्तरीयता तर्फ अगाडी बढ्न थालेको उनको भनाई छ।
उक्त विद्यालय निर्माणका लागि ७० लाख रुपैयाँ खर्च भएको र प्रवेशद्धार बनाउँदा ७ लाख खर्च भएको विद्यालयले जनाएको छ। यो संगै खरिबोट गोबिन्दनाथ देव शर्मा माविमा ४ वटा आधुनिक भवन बनेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञनाथ पौडेलका अनुसार यस विद्यालयमा विद्यालय क्षेत्र सुधार कार्यक्रम मार्फत गतवर्ष २ वटा भवन बनेका थिए। २ सय ९० जना विद्यार्थी अध्ययनरत छन।
कार्यक्रममा पूर्व गाविस अध्यक्ष एवं शहिद परिवारको तर्फबाट हेम शर्मा पौडेलले विद्यालयले शुन्यबाट शुरु गरेर अहिले सम्म आईपुग्दा धेरै प्रगति पनि गरेको र समस्या पनि झेलेको बताउँदै नगरपालिकाले उचित रुपमा विद्यालयको समस्या समाधान गर्न माग राखे। कार्यक्रममा कार्यवाहक वडाध्यक्ष बिरेन्द्र रिजाल, विद्यालयका प्रधानाध्याक धनश्याम पौडेल लगायतले बोलेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक हरिप्रसाद रिजालले गरेका थिए।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको आर्थिक सहयोग र कुश्मा नगरपालिकाको समन्वयमा उक्त भवन निर्माण सम्पन्न भएको हो।