चैत १५, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारीमा नेपाली काँग्रेसको वडा कार्यालय उद्घाटन गरिएको छ ।
सोमबार एक समारोहका बिच वडा समितिको कार्यालय उद्घाटन गरिएको हो । साथै उपस्थित भेलामा तरुण दल, महिला संघ र दलित संघ वडा कार्यसमिति पनि गठन गरिएको छ । नेपाली काँग्रेस पर्वतका सभापति यूवराज जोशीले वडा कार्यालयको उद्घाटन गरेका हुन् ।
उनले पर्वतमा सबै पालिकामा नेपाली काँग्रेसका वडा कार्यालय निर्माण भैरहेका र टोलटोलमा समितिले पूर्णता पाएको भन्दै यसले गर्दा पार्टी बलियो बनेको बताए । काँग्रेसलाई कुनै शक्तिले पनि पराजित गर्न नसक्ने किसिमले झाँगिदै गएको भन्दै सभापति जोशीले तल्लो स्तरबाटै पार्टीको संरचना मजबुत बनेको दाबी गरे । उनले आसन्न स्थानीय तहको निर्वाचनको संघारमा सञ्चालन भएको घरघर जाउँ काँग्रेस जिताउँ अभियानमा अन्य पार्टी त्यागेर कार्यकर्ताहरु उत्साहपूर्वक नेपाली काँग्रेसमा प्रवेश हुनाले काँग्रेसलाई निर्वाचन जित्नुमा कुनै आशंका नरहेको चर्चा गरे । पर्वतका सबै तह र वडामा काँग्रेसलाई दुई तिहाई मतले जिताउने सभापति जोशीले उद्घोष पनि गरेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता रमेश पौडेल, प्रदेश सदस्य सीता काफ्ले लामिछाने, जिल्ला सहसचिव अच्यूत तिवारी, पूर्व जिविस उपसभापति राम शर्मा पौडेल, महाधिबेशन प्रतिनिधी शिव शर्मा अधिकारी, महिला संघका अध्यक्ष तथा महाधिबेशन प्रतिनिधी मुना शर्मा लामिछाने, प्रदेशसभा ‘क’ का सभापति राजकुमार क्षेत्री, कुश्मा नगर समितिका सभापति किशोर भण्डारी, जिल्ला सदस्य लक्ष्मीकुमारी बैरागी, प्रदेश क का कोषाध्यक्ष चित्रकला शर्मा भारती, वडाध्यक्ष कृष्णप्रसाद लामिछाने, नेविसंघका अध्यक्ष सन्तोष पाठक, दलित संघ गण्डकी प्रदेशका सदस्य आनन्द विक, कुश्मा नगर सदस्य कृष्ण शर्मा अधिकारी, महिला संघका नगर सभापति संगीता लामिछाने अधिकारी, महिला संघ कटुवाचौपारीकी अध्यक्ष यशोदा लामिछाने, नेता केशवदास बैरागी लगायतले बोलेका थिए ।
नेपाली काँग्रेस कुश्मा नगरपालिका–९ का सभापति रामशर्मा लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपसभापति खडानन्द पौडेलले गरेका थिए भने सञ्चालन सचिव सुदीप लामिछानेले गरेका थिए । साथै कटुवाचौपारीमा यशोदा लामिछानेको अध्यक्षतामा महिला संघ, रबि अधिकारीको अध्यक्षतामा तरुणदल र सावित्री नेपालीको अध्यक्षतामा दलित संघ गठन भएको छ । सोही कार्यक्रममा नेकपा एमाले र माओबादी पार्टी परित्याग गरी सात जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
कटुवाचौपारीमा काँग्रेसको वडा कार्यालय उद्घाटन
चैत्र १५, २०७८





