शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025

कृषिगणनाबारे सचेतना गोष्ठी सम्पन्न

चैत्र १५, २०७८

चैत १५, २०७८
पर्वत : सातौँ राष्ट्रिय कृषि गणनाका बारेमा जिल्ला कृषि गणना कार्यालयको आयोजनामा पर्वत सदरमुकाम कुश्मा बजारमा सचेतना गोष्ठी सम्पन्न भएको छ ।
गणना तरिका, उद्धेश्य, प्राप्त नतिजाको विश्लेषण, त्यसको प्रयोग, गणनाको लागि सरोकारवाला निकायहरुले निभाउनुपर्ने भूमिका लगायतको बारेमा गोष्ठीमा छलफल भएको छ ।
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला कृषि गणना अधिकृत सुरेन्द्रराज पौडेलले नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान महत्त्वपूर्ण रहेकाले कृषि गणना नेपालका लागि महत्त्वपूर्ण रहेको बताए। देशभरीको कृषिको अवस्था, लगानीको अवस्था, कृषिमा सिँचाइको अवस्थाबारे थाहा पाउन, उमेर र जात अनुसारका पशुपक्षीबारे थाहा पाउन, कृषिमा भइरहेको यान्त्रिकीकरण र आधुनिकीकरणको अवस्थाबारे थाहा पाउन, कृषि ऋण बिमा र अनुदानको अवस्था थाहा पाउनका लागि गणना गरिने उनको भनाई छ । मुख्य कृषक तथा मुख्य उत्पादन, कृषि चलनको मुख्य उत्पादन, उत्पादनको मुख्य उपयोग, कृषि चलनको आर्थिक क्रियाकलाप, कृषि चलनको पारिवारिक विवरण (नाम, लिङ्ग, उमेर, शैक्षिक स्थिति, मुख्य पेशा, कृषि तालिम, कृषि कार्यसम्बन्धी निर्णयमा सहभागिता, कृषिका लागि दिइएको समय), संलग्न कामदारको सङ्ख्या, महिलाको नाममा हरेको कृषि जग्गा र क्षेत्रफल, सिँचाइको स्रोतको बारेमा गणनाको क्रममा तथ्याङ्क लिइने छ ।
यस्तै जग्गाको उपभोग, अस्थायी बालीको क्षेत्रफल, मुख्य बाली उत्पादन, स्थायी बाली क्षेत्रफल र सङ्ख्या, चौपाया तथा पक्षीको विवरण, कृषि औजार र साधन तथा स्वामित्व, गैरआवासीय भवनको प्रयोग र स्वामित्व, वन, कृषि ऋण, बिमा, अनुदान, खाद्यान्न स्थिति, अपुग खाद्यान्नको व्यवस्थापन, कृषिमा वातावरणको प्रभाव लगायतको जानकारी पनि सुपरीवेक्षक र गणकले लिनेछन् । गणकहरूले सोधेका प्रश्नावलीहरूको सत्य तथ्य जवाफ दिनुपर्ने नागरिकको कर्तव्य हुने बताउँदै उनले सही तथ्याङ्क नआएमा त्यसले स्थानीय तहदेखि राष्ट्रिय तहसम्मका योजनामा प्रभाव पार्ने भएकाले सोही ठाउँका कृषकहरू योजनाको मारमा पर्ने अधिकृत पौडेलले बताए । अहिले आएको तथ्याङ्ककै आधारमा राज्यले कृषि नीति, योजना तथा कार्यक्रमहरू तयार पर्ने छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिकी उपप्रमुख याम कुमारी रानाले गणकहरुलाई सही सूचना दिएर विवरण सङ्कलनमा सघाउन अनुरोध गरीन् । यस्ता खालका गणनालाई १० वर्षको भन्दा सानो अवधिमा सञ्चालन गर्न सकेमा बीचमा भएका परिवर्तनहरुका आधारमा योजना निर्माण गर्न सजिलो हुने उनको भनाई छ ।
यस्तै सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले नेपालीहरुको परनिर्भरताको क्रम बढ्दै जाँदा आन्तरिक उत्पादन नै सङ्कटमा परेको बताए। आफ्ना अर्गानिक उत्पादन छोडेर आयातमा भर पर्दा अर्थतन्त्रदेखि मानवीय स्वास्थ्यमा पनि असर पर्ने उनको भनाई छ ।
थापाकै अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक जिल्ला कृषि गणना अधिकृत ऋषिराम शर्माले गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive