बिहि, माघ २९, २०८२
Thu, February 12, 2026

पोखरामा मिर्गौलाको सफल प्रत्यारोपण

असार १०, २०७९

असार १०, २०७९
पर्वत : चिकित्सा विज्ञानको क्षेत्रमा गण्डकी प्रदेशले थप प्रगति गरेको छ।
प्रदेशमा नै पहिलो पटक गण्डकी हस्पिटल (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा एक महिलामा सफल रूपमा मिर्गौला प्रत्यारोपण गरेपछि गण्डकी प्रदेशका लागि स्वास्थ्य क्षेत्रमा नयाँ सुविधा सुरु भएको हो। मिर्गौलाको प्रत्यारोपणको लागि काठमाडौँ नै जानुपर्ने बाध्यता रहिआएकोमा अब भने पोखरामा नै यो सेवा उपलब्ध हुने भएको हो।
गण्डकी अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीका अनुसार प्रत्यारोपणका लागि प्रमुख सहयोग र सहकार्यका लागि भक्तपुरस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको साथ डाक्टरको टोली नै पोखरा आएको थियो। उनीहरूको साथमा पोखराका डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाईँ, डा. माया लामा, डा. जुजु श्रेष्ठ तथा डा. अमृत के.सी. को टोलीले ५० वर्षिया महिलामा प्रत्यारोपणको काम गरेको थियो। उनलाई आफ्नै श्रीमानले मिर्गौला दिएका थिए।
अस्पतालका निर्देशक प्रा.डा. खत्रीले पहिलो प्रयासमा नै आफूहरू सफल भएकोमा खुसी व्यक्त गर्दै अब पोखरामा नै मिर्गौलाको प्रत्यारोपण गर्ने कार्यलाई निरन्तरता दिने बताउँछन्। यससँगै लामो दूरीको यात्रा तय गरी काठमाडौँ पुगेर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बाध्यता टरेको छ।
गत महिना गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा पोखराबाटै मिर्गौला प्रत्यारोपण गराउने जनाएको थियो। पोखरामा नै सफल प्रत्यारोपण भएपछि गण्डकी प्रदेश सरकारले राखेको लक्ष्य पनि पूरा हुने भएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive