साउन ११, २०७९
पर्वत : नेपाली सेनाले बडामहाराजाधिराज पृथ्वी नारायण शाहको देहावसान स्थलमा जनहित कार्य अन्तर्गत विभिन्न कामहरु सम्पन्न गरेको छ।
नेपाली सेनाको जबरजंग गणले नुवाकोट जिल्लाको बिदुर नगरपालिका–५, देवीघाटमा पृथ्वीनारायण शाहको देहावसान भएको स्थानको संरक्षण तथा सम्वद्र्धन गर्न सञ्चालित जनहित कार्यक्रम अन्तर्गत पार्कभित्र अपाङ्ग मैत्री शौचालय, कम्पाउण्डको तीन दिशाको पर्खाल तथा रेलिङ्ग, शालिक रहेको स्थानमा रेलिङ्ग, आगन्तुकहरु विश्रामको लागि फलामको फलैचा निर्माण कार्य सम्पन्न गरेको हो।
मङ्गलवार विशेष कार्यक्रमको आयोजना गरी नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरका सेनापति उपरथी बाबुराम श्रेष्ठले पृथ्वी स्मारक संरक्षण समितिका अध्यक्षलाई हस्तान्तरण गरेका छन्। सो अवसरमा बोल्दै उनले नेपाली सेनाले एतिहासिक महत्वका स्थलहरुको संरक्षण गर्दै आईरहेको बताउँदै ती कामले भविष्यमा आउने पुस्ताहरुलाई आफ्नो पुर्खाको इतिहास बारे जान्ने अवसर दिने बताए। ऐतिहासिक बस्तु वा ठाउँले विगतलाई बोकेका हुने र ती सम्पदाहरु लोप भएमा विगतको चिनो नरहँदा नयाँ पुस्ताले पुरानो पुस्ताको योगदानको बारेमा थाहा पाउन नसक्ने उपरथी श्रेष्ठको भनाई थियो।
सो अवसरमा बोल्दै विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठ तथा संरक्षण समितिका अध्यक्ष गोविन्द चित्रकारले नं ६ बाहिनी अड्डाका निमित्त बाहिनीपति, बबरजंग गणका गणपति र गणलाई नेपाली सेनाले गरेको उत्कृष्ट कार्यको कदर गर्दै दोसल्ला ओडाई सम्मानपत्र प्रदान गरेका थिए। उनीहरुले नेपाली सेनाले गरेको कामप्रति धन्यवाद व्यक्त गर्दै त्यस स्थानको विकास तथा पबद्र्धनमा सेनाले गरेको योगदानप्रति देवीघाटवासीहरु खुसी रहेको बताए।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, वडाध्यक्षहरु, स्थानीय बुद्धिजिवी लगायतको पनि उपस्थिति रहेको थियो।