शनिबार, अशोज १९, २०८१
Saturday, October 5, 2024

पर्वतमा ‘एक प्रहरी एक बिस्तारा’ : माछापुच्छ्रे बैङ्कले दियो ५० हजारका ‘बेड’

साउन ११, २०७९
पर्वत : माछापुच्छ्रे बैङ्कको पर्वत शाखाले जिल्ला प्रहरी कार्यालय पर्वतलाई झन्डै ५० हजार मूल्य बराबरका मेट्रेस र सिरानी उपलब्ध गराएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले चलाएको ‘एक प्रहरी एक बिस्तारा’ उपलब्ध गराउने अभियानमा सघाउ पुग्ने भएकाले सुत्नको लागि प्रयोग हुने २५ थान मेट्रेस र २५ थान सिरानी सहयोग गरिएको माछापुच्छ्रे बैङ्क लिमिटेड पर्वत शाखाका प्रमुख सन्तोष कुमार के.सी. ले बताए । प्रावधान अनुसारको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर ती सहयोग गरिएको उनको भनाई छ ।
‘हाम्रै बैङ्कहरूको सुरक्षामा खटिने प्रहरीको भित्री बसाई व्यवस्थापन कस्तो हुन्छ हामीलाई थाहा छैन । तर पर्वत प्रहरीले एक प्रहरी एक बिस्तारा अभियान चलाएको देख्दा निकै गज्जब लाग्यो,’ के.सी.ले भने, ‘हाम्रो सेवाको लागि खटिने मान्छे केही घण्टा त आनन्दले निदाउन सकोस् भनेर सहयोग गरेका हौँ । सामाजिक उत्तरदायित्वमा पनि पर्ने, प्रहरीको पनि निकै राम्रो काम थालनी। यही देखेर सहयोग गरेका हौँ ।’
जिल्लामा सञ्चालित वित्तीय संस्था तथा अन्य कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम गरी वार्षिक रूपमा सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्ने प्रावधान रहेको भए पनि केहीले भन्दा उत्तरदायित्व बहन गरेका छैनन् । तर माछापुच्छ्रेले भने पर्वत प्रहरीको आवश्यकता महसुस गरेर सहयोग गरेको हो ।
बैङ्कका गण्डकी प्रदेश प्रमुख निलम गौतम पौडेलले पर्वत जिल्लालाई केन्द्रबिन्दुमा राखेर आयोजित कार्यक्रमको प्रशंसा गर्दै सामाजिक क्षेत्रमा थप सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बैङ्कले दिएका सामग्रीहरू ग्रहण गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले प्रहरीको आवश्यकता महसुस गरी प्रहरीको अभियानमा सघाएको बैङ्कलाई धन्यवाद दिए । प्रहरी नागरिकको सुरक्षामा नै रहने भएका कारण समुदाय र प्रहरीको सम्बन्ध राम्रो हुनुपर्ने बताउँदै उनले प्रहरीले सीमित स्रोत र साधनमा रहेर सेवा गरिरहेको उल्लेख गरे । ‘हाम्रो व्यवस्थापकीय पाटो कसरी चलिरहेको छ भन्ने कुरा पब्लिकलाई थाहा हुँदैन । हामी सीमित स्रोत र साधनमा रहेर जनताको सेवामा खटिएका हुन्छौँ,’ उनले भने, ‘कम्तीमा पनि ड्युटी अफ टाइममा एक प्रहरी सजिलो गरी निदाउन सकोस् भनेर नै एक प्रहरी एक बिस्तारा अभियानको थालनी भएको हो ।’
सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापाले जिल्लामा रहेका धेरै संस्थाले सामाजिक उत्तरदायित्व बहन अन्तर्गतका कार्यक्रमहरू गर्न नसकेको बताउँछन् । सामाजिक उत्तरदायित्व लिँदा समुदायमा संस्थाको पक्षमा राम्रो सन्देशका साथ विश्वास पनि बढ्दा संस्थाकै व्यवसाय पनि राम्रो हुने भएकाले जिम्मेवारीबाट पछि नहट्न उनले अनुरोध गरे ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive