बिहि, माघ २९, २०८२
Thu, February 12, 2026

मोदी गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा सामग्री सहयोग

साउन ११, २०७९

पर्वत : पर्वतको मोदी गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य सामग्रीहरू सहयोग गरिएको छ।
जिल्लाका ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आइरहेको ‘गुड नेवर्स इन्टरनेशनल’ नामक संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँपालिका आठ ओटै वडाका स्वास्थ्य संस्थाहरूमा सहयोग गरिएको हो। ती स्वास्थ्य संस्थाका लागि सामान्य खालका डस्टबिन, साबुन, स्यानिटाइजर, फिनेल, डिटरर्जेन्ट, मोप्स, बकेट, ग्लभ्स, अप्रोन, बुट, ट्वाइलेट क्लिनर र ह्यान्ड वास हस्तान्तरण गरिएको आयोजक संस्था नवचेतना सामुदायिक विकास केन्द्र पर्वतकी सल्लाहकार सिता काफ्ले लामिछानेले बताइन्।
‘नागरिकको स्वास्थ्य बलियो नबनेसम्म दैनिकीका अन्य सबै पक्षहरूको विकास हुन सक्दैन। स्वस्थ भएमा मात्रै अरू काम गर्न सकिने हो। गुड नेवर्सले काम गरिरहेको मोदीमा यही कारण स्वास्थ्य सामग्रीहरू उपलब्ध गराइएको हो,’ कुश्मा नगरपालिकाकी निवर्तमान उपप्रमुख समेत रहेकी उनले भनिन्, ‘राज्यले पनि स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको हुनुपर्छ। स्वास्थ्यपछि शिक्षाको विकास भयो भने चेतनाको स्तर बढ्ने हो।’
परियोजना अन्तर्गत शुद्ध खानेपानी, स्वच्छता, फोहोर व्यवस्थापन र सरसफाइ सुधारका लागि गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरूमा चार लाख छ हजार मूल्यका सामग्रीहरू दिइएको हो।
मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले गाउँपालिकाले पनि स्वास्थ्य संस्थाहरूलाई प्राथमिकतामा राखेको र अन्य सामाजिक संस्थाहरूले पनि प्राथमिकता दिएको देख्दा खुसी लागेको बताइन्। स्वास्थ्य नै सबैभन्दा ठुलो धन भएकाले गाउँपालिकाले नागरिकलाई स्वस्थ राख्नका लागि विभिन्न कार्यक्रमहरू लागू गरिरहेको बताइन्। नागरिकको आहरबिहारमा हुने पौष्टिकता, अर्ग्यानिक उत्पादन लगायतका कुरामा ध्यान दिन सके स्वास्थ्य अवस्था राम्रो बन्ने उनको भनाई छ।
कार्यक्रममा परियोजनाको बारेमा परियोजना अधिकृत आशिष सुवेदीले जानकारी गराएका थिए। नवचेतना सामुदायिक विकास केन्द्रका अध्यक्ष गोपालदास पौडेलको पनि सहभागिता रहेको कार्यक्रमको सञ्चालन मोदी गाउँपालिकाका स्वास्थ्य संयोजक उमेश अधिकारीले गरेका थिए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive