साउन ११, २०७९
पर्वत : जिल्लाको फलेवास नगरपालिका–६ देवीस्थानमा पर्ने ‘हाइटेन्सन’ लाइनको विवाद समाधान गर्ने बारेमा नेपाल बिद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग छलफल भएको छ।
देवीस्थानमा निर्माणाधिन फलेवास रङ्गशालामा कालीगण्डकी विद्युत् प्रसारण लाइनका तीन ओटा टावहरु पङ्क्तिबद्ध रूपमा निर्माण गरिने भएपछि फलेवासवासीले त्यसको विरोध गर्दै आइरहेका छन्। ‘हाइटेन्सन’ लाइनले २१ करोड लगत अनुमान गरिएको र गण्डकी प्रदेशमा पोखरा रङ्गशालापछिको दोस्रो स्तरीय रङ्गशाला हुने अवस्थामा लाइनले त्यसको भविष्य बिगार्ने भन्दै स्थानीयले टावर निर्माणको विरोध गरिरहेका हुन्।
फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलका अनुसार अहिले भनिएको ठाउँमा ‘टावर’ निर्माण गर्नै नदिने फलेवासवासीको अडान र निर्माण गर्नै पर्ने बाध्यता रहने आयोजनाको भनाईकाबीच समस्या समाधानको लागि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङसँग भेटेर छलफल भएको हो। छलफलमा नगरप्रमुख गंगाधर तिवारी, प्रमुख प्रशासकीय अधिकृत पौडेल, विद्युत् बोर्डका सदस्य, नगरपालिकाका इन्जिनियर संजय लामिछाने, देवीस्थानका वडाध्यक्ष नवीन प्रधान, ऊर्जा विज्ञ तथा वाराही हाइड्रोपावरका निर्देशक दीपक तिवारी लगायत सहभागी भएका थिए।
समस्या समाधानको लागि फलेवास नगरपालिकाले सक्रियताका साथ काम गरिरहेको बताउँदै अधिकृत पौडेलले प्राधिकरणमा भएको छलफल सकारात्मक बनेको जानकारी दिए। ‘प्रसारण लाइन निर्माण आयोजनाका प्रमुख समेतको उपस्थितिमा समस्याको हल गर्ने उपायको खोजीको बारेमा छलफल भएको छ,’ उनले भने, ‘नगरप्रमुख तिवारीले जनताको चिन्तालाई सम्बोधन गर्ने गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिएर कुलमान जी, आयोजना प्रमुख लगायतसँग कुरा राख्नुभएको छ। कुलमानजीले समस्या समाधानको लागि सकारात्मक भूमिका निर्वाह गर्नुभयो।’
फलेवासबाट गएका सरोकारवालाहरूको कुरा र निर्माणाधीन रङ्गशालाको अवस्थाको बारेमा बुझेपछि कार्यकारी निर्देशक घिसिङले विभिन्न तीन ओटा विकल्पमा आधारित रहेर कालीगण्डकी प्रसारण कोरिडोरले समस्या समाधान गर्न निर्देशन दिएका नगरप्रमुख तिवारीले बताए। जसमा अहिले प्रस्तावित ‘अलाइनमन्ट’ को दक्षिण तर्फबाट विद्यालयहरू र खेल मैदान जोगिने गरी प्रसारण लाइन लैजाने, प्रस्तावित ‘अलाइनमन्ट’ को उत्तरतर्फबाट उपयुक्त मुआब्जा दिई प्रसारण लाइन लैजाने वा दुवै विकल्प समेतबाट प्रसारण लाइन लैजान प्राविधिक रूपमा असम्भव भएमा अहिलेकै प्रस्तावित ‘अलाइनमन्ट’ बाट खेलकुद मैदान र विद्यालय क्षेत्रमा न्यूनतम क्षति हुने गरी प्रसारण लाइन लैजाने रहेका छन्।
छलफलका क्रममा निर्देशक घिसिङले प्रसारण लाइनको निर्माणमा भइरहेको ढिलाइले विद्युत् आपूर्तिमा कमी आएको तथा करोडौँको घाटा भइरहेको विषयमा गम्भीर भइदिन स्थानीयवासीलाई अनुरोध गरेका छन्। विकासका कामहरु नागरिकको लागि नै हुने भएकाले निर्माण कार्यमा सघाउन उनले अनुरोध गरे। तर नगरप्रमुख तिवारीले भने फलेवासका नागरिकले विकासको विरोध नगरेको बताए। ‘हाइटेन्सन’ लाइनले विद्यालय र रङ्गशाला असर गर्ने भएपछि नागरिकले त्यसको विरोध गर्नु स्वाभाविकै भएको जवाफ दिएका थिए। यद्यपि प्राधिकरणमा सरोकारवालाहरुकोबीचमा भएको छलफल र निस्किएका विकल्पको बारेमा नगरवासीलाई जस्ताको तस्तै जानकारी गराएर समस्या समाधानको लागि पहल गर्ने उनको भनाई छ।
विकासको एउटा परियोजनाले विकासको अर्को परियोजनाको अस्तित्व मेटाउनुले कुनै पनि प्रकारका विकासका उद्देश्य पूरा नहुने स्थानीयले बताउँदै आएका छन्। निर्देशक घिसिङले प्रस्ताव गरेको ‘अलाइनमन्ट’ को दक्षिण तर्फबाट विद्यालयहरू र खेल मैदान जोगिने गरी प्रसारण लाइन लैजाने भनी दिएको विकल्प र स्थानीयले राख्दै आएको माग एकै देखिएका छन्। स्थानीयवासीले विवादित ठाउँमा अध्ययन गरी प्राविधिक रूपमा साबिकको रङ्गशालालाई हानि नपुग्ने गरी केही पश्चिम डिलतिरबाट विकल्पको सम्भावनालाई प्रयोग गर्नु प्रसारण लाइन विस्तार गर्नुपर्ने सुझाव दिँदै आएका छन्।
यसअघि समस्या समाधानको लागि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा सहित आयोजना र फलेवास नगरपालिकाका प्रतिनिधिहरूबिच पनि छलफल भएको थियो। त्यस क्रममा प्रमुख जिल्ला अधिकारी सापकोटाले विकासका काममा कसैले पनि अवरोध गर्न नपाइने भएकोले आयोजनाले आफ्नो काम अगाडि बढाउने बताएका थिए। आयोजनाका प्रमुख चन्दनकुमार घोषले पनि ‘अलाइनमन्ट’ परिवर्तन गर्न नमिल्ने भएकाले तोकिएको योजना अनुसार नै काम हुने बताउँदै आएका थिए।
रङ्गशाला र विद्यालयमा ‘हाइटेन्सन’ लाइन पार्न नहुने भन्दै नगरवासीले निकै दबाब दिएका कारण नगरप्रमुख तिवारीले नगरवासीको चाहना अनुसार नै आफूले समस्या समाधानको लागि पहल गर्ने बताउँदै आएका थिए। सोही अनुसार उनले प्राधिकरणकै कार्यकारी निर्देशकसँग छलफल गरेर समस्याको हल गर्ने प्रयास गरेका हुन्।
पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटदेखि बुटवलसम्मका दुई सय ३३ ओटा मध्ये दुई सय ३० ओटा टावरहरूको निर्माण कार्य पूरा भइसकेको छ।
यस्तै रङ्गशाला निर्माणका लागि २९ करोड बजेट लाग्ने अनुमान गरिएको छ। हालसम्म नगरपालिकामार्फत ४६ लाख, प्रदेश सरकार मार्फत १० लाख र सङ्घ सरकार मार्फत ३० लाख बजेट विनियोजन गरी काम भइरहेको छ। गण्डकी प्रदेशकै एथलेटिक्सको लागि आवश्यक ट्र्याकसहित फुटबल मैदान, कभर्ड हल पनि रङ्गशालामा निर्माण हुँदै गरेको रङ्गशाला निर्माण समितिका सचिव हिटलर थापाले बताए।
thahakhabar.com