शनि, माघ १०, २०८२
Sat, January 24, 2026

‘एनआरएनए नन रेसीडेन्ट’ द्वारा झन्डै पाँच लाखका तीन पुरस्कार घोषणा

साउन १०, २०७९

संजय रेग्मी
साउन १०, २०७९
पर्वत : ‘एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन’ ले नेपालका विभिन्न तीन क्षेत्रमा विशेष काम गरेका व्यक्तिहरूको लागि करिब पाँच लाख रुपैयाँको पुरस्कार प्रदान गर्ने भएको छ।
एसोसिएसनका अन्तर्राष्ट्रिय समन्वय समिति अध्यक्ष माधव मरासिनीका अनुसार अन्तर्राष्ट्रिय समन्वय समितिको सचिवालय बैठकले अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार, अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार र अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कारको घोषणा गरेको हो। मातृभूमि नेपाल तथा विश्वभरबाट निस्वार्थ रूपले लामो समय देखि ती क्षेत्रमा लागेका व्यक्तिहरूको अध्ययन गरेर नेपालमा नै विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार दिइने मरासिनीले बताए।
अन्तर्राष्ट्रिय शिक्षा सेवा पुरस्कार र अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कारको लागि ११ सय अमेरिकी डलरका दरले २२ सय अमेरिकी डलरको घोषणा गरिएको छ। मङ्गलवार कायम रहेको अमेरिकी डलरको भाउ अनुसार यो विधाका पुरस्कार पाउनेहरूले जनही एक लाख ३९ हजार सात सय रुपैयाँ प्राप्त गर्ने छन्। शिक्षा पुरस्कार पाउनको लागि रुग्ण अवस्थाबाट गुज्रिएको सामुदायिक विद्यालयलाई कडा मिहीनेत गरी राम्रो बनाउन सफल विद्यालय, शिक्षक वा व्यवस्थापन समितिलाई प्रदान गरिने छ। यो पुरस्कार आउँदो भदौ सात गते वितरण गरिने छ।
यस्तै नेपालको ग्रामीण तथा दुर्गम क्षेत्रमा आफूले समस्या भोगेर पनि मिहिनेतका साथ नागरिकको सेवामा खटिने एक जना स्वास्थ्यकर्मीलाई प्रदान गरिने अध्यक्ष मरासिनीले बताए। सुगम ठाउँका नागरिकले सहज तरिकाले स्वास्थ्य सेवा पाउन सक्ने भए पनि नेपालका दुर्गम भेगमा अझै पनि स्वास्थ्य सेवा पाउन सहज छैन। यही कारण जसले आफूलाई दुःखमा राखेर भए पनि नागरिकको स्वास्थ्यलाई बलियो बनाउन खोजेको छ उसैलाई पुरस्कार दिइने संस्थाले बताएको छ। यो पुरस्कार वितरण गर्ने मिति आउँदो पुस सात गतेका लागि तोकिएको छ।
अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कारको राशि १५ सय ५१ अमेरिकी डलर अर्थात् एक लाख ९६ हजार नौ सय ७७ रुपैयाँ (मङ्गलवारको अमेरिकी डलरको दर अनुसार) तोकिएको छ। नेपाल वा विदेशमा रहेर सञ्चार क्षेत्रमा क्रियाशील रहेका एक जना पत्रकारलाई प्रदान गरिने छ। पत्रकारिताको माध्यमबाट राजनीति नगरेको तर सामाजिक परिवर्तन, नागरिकका पिडा देखाइएका लगायतका पक्षमा पत्रकारिता गरिरहेको व्यक्ति यसका लागि योग्य मानिने मरासिनीले बताए। यो पुरस्कार २०८० सालको वैशाख सात गते वितरण गर्ने संस्थाको योजना छ।
‘एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन’ करिब आठ महिना अगाडि मात्रै स्थापना भएको र अहिलेसम्म बालबालिका, शिक्षा र स्वास्थ्यमा गरेर करिब ५० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग नेपालका विभिन्न ठाउँमा गरिएको अध्यक्ष मरासिनीको भनाई छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive