पर्वत : भीरबाट खसेको ढुङ्गाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडक खण्ड पुनः सञ्चालनमा आएको छ।
पर्वतको कुश्मा नगरपालिका–८ मा रहेको चुवाको भिरमा सडक माथिबाट खसेको ठुलो ढुङ्गा सडकमा अडिएपछि सडक अवरुद्ध भएको थियो। सडकको बिच भागमा अडिएको ढुङ्गाका कारण सडक अवरुद्ध भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेको कमान्डमा पुगेको प्रहरी टोलीले ढुङ्गा हटाएर सडक पुनः सञ्चालनमा ल्याएको हो।
मध्यपहाडी लोकमार्ग निर्माणमा प्रयोग भएको जेसिबीको सहयोगमा ढुङ्गा हटाएपछि बिहीबार बिहान केही बेर अवरुद्ध भएको सडकमा अहिले भने बिना अवरोध सवारीहरू आवतजावत भइरहेका प्रहरी नायव निरीक्षक निउरेले बताए।
ढुङ्गाका कारण ठुला सवारीहरू छिर्न नसकेपछि पोखराबाट कुश्मा, बागलुङ, म्याग्दी र मुस्ताङ जाँदै गरेका ठुला सवारीहरू चुवा र दोबिल्लामा नै रोकिएका थिए भने ती जिल्लाबाट बाहिरिएर पोखरा, काठमाडौँ, चितवन लगायतका ठाउँमा जानका लागि पुगेका सवारीहरू पनि चुवामा नै रोकिएका थिए। सडक खुलेसँगै ती सवारीहरू गन्तव्यमा लागेका छन्।
गत मङ्गलवार पनि सोही स्थानमा खसेको ठुलो ढुङ्गाका कारण मझौला र ठुला सवारीहरूको आवागमन रोकिएको थियो। मङ्गलवार बिहान खसेको ढुङ्गालाई दिउसो मात्रै सडकबाट हटाउन सकिएको थियो। मङ्गलवार जस्तै फेरि पनि ढुङ्गा खस्न सक्ने अवस्थाका कारण तयारीमा अवस्थामा राखिएको जेसिबी र प्रहरीको सक्रियताका कारण बिहीबार भने केही बेरमा नै सडकको अवरोध हटेको छ।
ढुङ्गा झरेको स्थल पहिलेबाट नै साँघुरो रहेको थियो। मध्यपहाडी सडक निर्माणको क्रममा अग्लो भागसम्म भीर कटान गरेर सडकलाई दुई लेनको बनाइएको थियो। हरेक बर्खामा सानो–ठुलो पहिरो तथा ढुङ्गा पनि चुवाको भीर क्षेत्रमा खस्दै आएका छन्।
ढुङ्गा हटाएपछि मध्यपहाडी सडकको अवरोध हट्यो
