बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

कुश्मा नगरपालिकाका अङ्ग्रेजी शिक्षकहरुलाई पाठ्यक्रमबारे सहजीकरण

पर्वत : पर्वतको कुश्मा नगरपालिकाका आधारभूत र माध्यमिक तहमा अध्यापनरत अङ्ग्रेजी विषयका शिक्षकहरुलाई पाठ्यक्रम प्रबोधिकरण अन्तर्गत पाठ्यक्रमबारे सहजीकरण गरिएको छ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतको समन्वयमा कुश्मा नगरपालिकाको नगर शिक्षा शाखाको आयोजनामा एक दिने सहजीकरण सम्पन्न भएको हो। नगरपालिका शिक्षा अधिकृत दीपक सुवेदीका अनुसार नगरपालिकाभित्रका विभिन्न विद्यालयका ३४ जना शिक्षकहरुलाई सहजीकरण गरिएको हो।


प्रशिक्षणमा कक्षा ६ देखि ८ का लागि कायम रहेको अङ्ग्रेजी विषयको पाठ्यक्रम तथा शिक्षण विधि र यो वर्ष पाठ्यक्रम परिवर्तन गरिएका कक्षा ७ र ९ को पाठ्यक्रमको बारेमा प्रशिक्षण दिइएको थियो। यस्तै अक्षराङ्कन मूल्याङ्कन प्रणाली, नेपालको पाठ्यक्रमले तहगत रुपमा लिएका उद्धेश्य तथा उपलब्धि लगायतका बारेमा पनि सहजीकरण गरिएको थियो।


सहजीकरणमा आन्तरिक तथा बाह्य मूल्याङ्कन प्रणाली, पाठ्यघण्टा तथा कार्यघण्टा, पाठ्यक्रमले तोकेका लक्ष्य लगायतका विषयमा पनि सहभागीहरुबिच छलफल तथा अन्तरक्रिया भएको थियो। घोकन्ते पद्धती र पाठ्यपुस्तकमा राखिएका विषयबस्तुलाई छलफल गराएपछि पाठ्यक्रम कार्यान्वयन भएको मानिने परम्परा रहेका कारण पाठ्यक्रमले राखेका उद्धेश्य र तोकिएका सक्षमताहरु पूरा हुन नसकेको छलफलमा सहभागी शिक्षकहरुले बताएका छन्। त्यसका लागि अतिरिक्त क्रियाकलाप सहित व्यवहारिक शिक्षामा जोड दिँदै निरन्तर विद्यार्थी मूल्याङ्कनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेमा मात्रै विद्यार्थीमा सक्षमता प्राप्त भएको मान्न सकिने उनीहरुको भनाई छ।


नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदी, अर्जुन पौडेल र शिक्षक दुर्गी क्षेत्रीले सहजीकरण गरेका थिए। सहजकर्ताहरुले पाठ्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सकिने उपायका बारेमा सहभागीहरुसँग छलफल गरेका थिए।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive