पर्वत : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत पर्वतको प्रदेशसभा ‘क’ मा नेपाली काँग्रेसबाट उम्मेदवारीका आकांक्षी २८ जना देखिएका छन्।
प्रदेशसभा ‘क’ मा रहने एकजना प्रत्यक्ष तथा एक महिलासहित दुईजनाको सिफारिशमा पर्नको लागि आकांक्षी नेताहरूको लर्को देखिएको हो। क्षेत्रीय समितिले मङ्गलबार सूचना जारी गरेर मङ्गलबारै दिउँसो १ बजेदेखि बुधबार दिउँसो १ बजेसम्म आकांक्षीहरूबाट पार्टीमा उम्मेदवारी दिन आह्वान गरेको थियो।
उम्मेदवार हुन काँग्रेसको विधानको धारा ३० को उपधारा १, धारा ३३ को उपधारा २ तथा धारा ६९ बमोजिमको योग्यता पूरा भएको हुनुपर्ने भनिएको थियो।
योग्यता पुगेका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका आकांक्षीलाई विधानको धारा ३२ को उपधारा ७ को ‘क’ बमोजिम सिफारिश गर्ने प्रयोजनका लागि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले जारी गरेको प्रतिबद्धता पत्रसहित उम्मेदवारी दर्ता गर्न सकिने भनिएको थियो।
नेपाली काँग्रेस पर्वतका अनुसार प्रदेशसभा ‘क’ मा एकजना प्रत्यक्ष उम्मेदवारको लागि १० जना आकांक्षी देखिएका छन्। उनीहरू नवराज गुरुङ, यामबहादुर मल्ल, राम शर्मा पौडेल, विप्लवजंग हमाल, राजकुमार क्षेत्री, गंगाधर पौडेल, शिव शर्मा अधिकारी, रामबहादुर प्रसाईँ र वसन्तबहादुर सिके हुन्।
समानुपातिकतर्फको उम्मेदवारीका लागि १८ जनाले नाम दर्ता गराएका छन्। उनीहरू कुलबहादुर पुन, कृष्णबहादुर खत्री, लेखनाथ पौडेल, डा चूडामणि शर्मा, ओमप्रसाद शर्मा, प्रेम विक, मिना केसी, सोम पुन, सरस्वती शर्मा, रमेश पौडेल, जोगमाया प्रसाईँ, मीनबहादुर नेपाली, सिता काफ्ले लामिछाने, मिना कर्माचार्य, चन्द्रबहादुर जिसी, कलावती पुरी, बलभद्र शर्मा, लालकुमारी सिके, टङ्क सुवेदी र ईश्वरी पाठक रहेका छन्।
काँग्रेस पर्वतले प्रतिनिधिसभातर्फको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार बन्न इच्छुक रहेकाहरूलाई पनि उम्मेदवारीका लागि नाम दर्ता गर्न आह्वान गरेको छ।
सभापति युवराज जोशीका अनुसार नेपाली काँग्रेसको केन्द्रीय कार्यालयले भदौ ९ गते पठाएको पत्रअनुसार भदौ १४ गते बसेको जिल्ला कार्यसमितिको पदाधिकारी बैठकले समय निर्धारणको निर्णय गरेको थियो।
सोही अनुसार भदौ १५ गते दिउँसो १ बजेदेखि भदौ १७ गते दिउँसो १ बजेसम्म केन्द्रीय कार्यसमितिले जारी गरेको प्रतिबद्धता पत्रसहित उम्मेदवार स्वयं वा उसले पठाएको प्रतिनिधिले उम्मेदवारी दर्ता गर्न सक्नेछन्।
thahakhabar.com




