पर्वत : रावि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पर्वत जिल्लाका स्थानीय तहहरुमा पनि आफ्नो सङ्गठन विस्तार गर्ने भएको छ।
निर्वाचनको बेलामा समर्थकहरुबाट स्वेच्छिक मत पाएर एकाएक केन्द्रिय राजनीतिमा उदाएको रास्वपाले सङ्गठनलाई बलियो बनाउनको लागि जिल्लाका सात वटै स्थानीय तहहरुमा सङ्गठन निर्माण गर्न लागेको हो। निर्वाचनमा सबैबाट रुचाइएकी तथा तार्किक व्यक्तित्वका रुपमा चिनिने प्रतिनिधि सभा सदस्य तथा स्वतन्त्र पार्टीकी केन्द्रीय समिति सदस्य सोबिता गौतमको उपस्थितिमा सङ्गठन विस्तारको काम थाल्न लागिएको रास्वपा प्रदेश समिति सदस्य तथा जिल्ला संयोजक नवराज भण्डारीले बताए।
आउँदो चैत ४ गते गौतमको उपस्थितिमा जिल्ला भेला तथा कुश्मा नगरपालिका समितिको गठन गरेपछि अन्य छ वटा स्थानीय तहमा भने प्रदेश समितिका पदाधिकारीहरुको उपस्थितिमा समिति निर्माण गर्ने तयारी छ। संयोजक भण्डारीका अनुसार चैत ५ गते जलजला गाउँपालिकामा, छ गते मोदी गाउँपालिकामा, ७ गते फलेवास नगरपालिकामा, ८ गते महाशिला गाउँपालिकामा, ९ गते बिहादी गाउँपालिकामा र १० गते पैयुँ गाउँपालिकामा समिति निर्माण गर्ने तयारी छ।
सोविता गौतमको उपस्थितिमा पर्वतमा रास्वपाले सङ्गठन विस्तार गर्दै
फाल्गुन २६, २०७९




