पर्वत : जिल्लाको बिहादी गाउँपादिकाका अध्यक्ष परविन गुरुङले दाताको खोजी गरेर भए पनि गाउँपालिकामा विशेषज्ञ सहितको स्वासथ्य सेवा प्रदान गर्नको लागि आफू प्रतिबद्ध भएको बताएका छन् ।
बिहादीको वडा नं. १ र ५ का महिला सञ्जालले आयोजना गरेको तीज विशेष कार्यक्रमका अवसरमा बोल्दै उनले आर्थिक अभावले गाउँपालिकाबासी कसैले पनि स्वास्थ्य उपचारबाट वञ्चित हुन नपर्ने प्रतिवद्धता जनाएका छन् । स्थानीय तहमा आएको बजेटले मात्रै विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न नसक्ने अवस्था आएमा दाताको खोजी गरेर भए पनि प्रत्येक ६÷६ महिनामा निशुल्क रुपमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य परीक्षण सेवा प्रदान गरिने अध्यक्ष गुरुङको भनाई छ ।
गाउँपालिकाभित्रका ज्येष्ठ नागरिक, विद्यार्थी, कर्मचारी, शिक्षक सहित सबै नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रण गर्दै उनले सयौँ रुपैयाँको औषधि किन्नका लागि हजारौँ रुपैयाँ खर्च गरेर पाल्पा र बुटवल पुग्नुपर्ने स्थितिको अन्त्य गरिने उनले बताए ।
गुणस्तरीय शिक्षा, स्वास्थ्योपचार, रोजगारीका अवसर, लगायतका खोजीमा गाउँबाट बसाईँ सरेर बजार जाने क्रम बढ्दै जाँदा गाउँका बस्तीहरु पातलिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष गुरुङलाई बसाईँसराईँलाई रोक्नका लागि गाउँमा नै गुणस्तरीय सुबिधाको आवश्यकता पर्दै गएको बताए । यसका लागि बिहादी गाउँपालिकाले प्राथमिकताका साथ बिभिन्न योजनाहरु कार्यान्वयन गरिरहेको उनको भनाइ छ ।