पर्वत : जिल्लाको मोदी गाउँपालिका–२ देउपुरमा आफ्नै साथीको सब्बल (ढुङ्गा फुटाउन र निकाल्न प्रयोग गरिने फलामको साधन) प्रहारबाट एक युवकको मृत्यु भएको छ।
देउपुरस्थित टापुको स्थानीय सामुदायिक बनमा दुई जना साथीहरू मिलेर तरुल खोज्न गएकोमा ४० वर्षका उदय रिजालको हत्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ। आइतबार दिउँसो जङ्गलमा फेला परेका रिजाललाई उपचारको लागि पर्वत अस्पतालमा ल्याउँदा चिकित्सकले मृत्यु घोषणा गरेका प्रहरी निरीक्षक अविनाश दीप जिसीले बताए।
घटनामा घाइते भएका अर्का युवक झन्डै ४० वर्षका श्रीराम शर्मालाई उपचारका लागि पोखरा पठाइएको छ। घटनामा संलग्न ३५ वर्षका प्रेमबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक जिसीका अनुसार दिनभरजसो सँगै रहेका उनीहरू मध्ये हत्याका अभियुक्त नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको प्रारम्भिक बयान दिएका छन्। रिसिबीको कारण भने खुल्न सकेको छैन।
रिजालमाथि तरुल खन्न प्रयोग हुने सब्बल प्रहार गरेको देखेपछि प्रत्यक्षदर्शी शर्मालाई समेत नेपालीले गल प्रहार गरेका थिए। सब्बलले लागेर घाइते भएका शर्मा भने भागेर आफ्नो ज्यान जोगाएको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
तरुल खोज्न सँगै गएका साथीलाई सब्बल प्रहार गरी हत्या
पुस १६, २०८०
