आइतवार, माघ २७, २०८१
Sunday, February 9, 2025

‘संभव नेपाल’ द्वारा गोरखाका विभिन्न तहलाई छ वटा एम्बुलेन्स वितरण

पर्वत : गोरखाको विभिन्न क्षेत्रका विद्यार्थीहरूलाई स्वास्थ्य सामग्री, पोसाक, अध्ययन सामग्री, लगायतका सहयोग गर्दै आइरहेको संस्था ‘संभव नेपाल’ ले गोरखाका स्थानीय तहहरूलाई एम्बुलेन्स उपलब्ध गराएको छ।
दुई नगरपालिका र नौ वटा गाउँपालिका गरी कुल ११ वटा स्थानीय तह रहेको गोरखाका विभिन्न छ वटा स्थानीय तहहरूको लागि ‘ख’ वर्गका एम्बुलेन्सहरू वितरण गरिएको हो। एम्बुलेन्स सँगै भ्याक्सिन रेफ्रिजियटर (आईएलआर) बेड सेट, हिटर, डेलिभरी बेड, स्ट्रेचर, स्पाइनल बोर्ड, ह्वील चियर लगायतका सामग्री पनि वितरण गरिएको छ। एम्बुलेन्स र स्वास्थ्य सामग्री गरेर कुल दुई करोड ३६ लाख लगानीमा ती सामग्रीहरू ल्याइएको संभव संस्थाका  अध्यक्ष तथा नेपाली काँग्रेसका महासमिति सदस्य प्रेम खत्रीले बताए।
यस पटक अजिरकोटको भच्चेक आधारभूत अस्पताल, बारपाक सुलिकोटको शहीद प्रेम ढकाल स्मृति आधारभूत अस्पताल, सिरानचोकको श्रीनाथकोट स्वास्थ्य चौकी, गण्डकी गाउँपालिकाको दुर्बङ स्वास्थ्य चौकी, आरुघाट गाउँपालिकाको थुमी स्वास्थ्य चौकी, चुमनुब्री गाउँपालिकाको सिर्दिबास स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो।
बिहीबार आयोजित एक कार्यक्रमकाबीच  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ती एम्बुलेन्सहरू स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलाई हस्तान्तरण गरेका छन्। त्यस अवसरमा बोल्दै उनले एम्बुलेन्सको सही सदुपयोग गर्न र व्यवस्थित रूपमा सञ्चालन गर्न स्थानीय तहहरूलाई अनुरोध गरे। संस्थाका संस्थापक तथा समाजसेवी खत्रीलाई धन्यवाद दिँदै मुख्यमन्त्री पाण्डेले संस्थाले यसअघिदेखि नै गोरखामा गर्दै आएको सामाजिक कामको प्रशंसा गरे।
‘संभव नेपाल’ ले यसअघि पनि गोरखाको छ वटा स्थानीय तहहरू गण्डकी गाउँपालिकामा एक थान, भीमसेन थापा गाउँपालिकामा एक थान, गोरखा नगरपालिकामा दुई थान, धार्चे गाउँपालिका एक थान र शहिदलखन गाउँपालिकामा एक थान एम्बुलेन्स वितरण गरेको थियो।
गोरखा जिल्लाका जनताको जीवनस्तर उकास्नको लागि शिक्षा, गरिबी, स्वास्थ्य र सरसफाइ, महिला सशक्तीकरण, विभिन्न युवा क्लबहरू, व्यावसायिक सीप र तालिम कार्यक्रमहरूमार्फत तल्लो तहमा सुधार ल्याउन ‘संभव नेपाल’ को स्थापना भएको हो।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive