सोम, फाल्गुन १८, २०८२
Mon, March 2, 2026

सन्दीप लामिछानेको सजाय आज तोकिने

पुस २५, २०८०

काठमाडौं : जबरजस्ती करणी मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय बुधबार तोकिँदै छ। पुस १३ गते अदालतबाट दोषी ठहर भएका उनको सजाय तय गर्न बुधबार पेशी तोकिएको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलाशले पुस १३ गते उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो। लामिछानेले पीडित युवतीको ‘नाजुक आर्थिक अवस्था’को फाइदा उठाएर जबरजस्ती करणी गरेको फैसला अदालतले सुनाएको थियो।

अदालतले पीडित किशोरी ‘गौशाला २६’ बालिग भए पनि जबरजस्ती करणी भएको ठहर गरेको थियो। लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको अदालतको ठहर छ।

लामिछाने ६ देखि १० वर्ष जेल जानसक्ने सम्भावना छ। १० वर्षभन्दा कम सजाय तोकिएको मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था पनि छ।

गत वर्ष भदौ ५ गते गौशालास्थित होटलमा लगेर बलात्कार गरेको भन्दै मुद्दा दायर भएको थियो। यससँगै उनी असोज २० गते उनी त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले गत कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।

उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्ताको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए।

सर्वोच्चले गत वर्ष फागुन १५ गते उच्च अदालत पाटनको आदेश केही उल्ट्याएर राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई विदेश जाने अनुमति दिएको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive