पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले क्यानडा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना विदेशी सहित छ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगरपालिका–१३ पाटनवेशीकी ६५ बर्षिया पार्वती सुनार, पोखरा महानगरपालिका–९ महेन्द्रपुलकी ३७ बर्षिया रिता सुनार, स्याङ्जाको फेदिखोला गाउँपालिका–३ की ३२ बर्षिया सीमा सुनार, काठमाडौँ महानगरपालिका–१४ कलङ्कीमा बस्ने ३८ वर्षीय प्रदीप उपाध्याय, क्यानडाको अलवर्ट राज्य क्यालगोरी सिटी स्थायी वतन भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्य प्रदेश भोपाल जिल्लास्थित भोपाल नगर स्थायी वतन भएका ३२ वर्षीय ईस्मित कौर रहेका छन्।
गत माघ नौ गते पोखरा महानगरपालिका–१० बुद्ध चोकमा रहेको एक होटेलमा क्यानडा लैजान्छु भनी विभिन्न प्रलोभन देखाएर अन्तर्वार्ता लिन विभिन्न व्यक्तिलाई बोलाएको भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो। सोही आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले होटेल टास्कमा छापा मारेको थियो।
त्यस क्रममा पार्वती सुनार लगायतले आफ्नो छोरी क्यानडामा रहेकोले सिधै क्यानडाको भिसा दिलाएर राम्रो काममा लगाइदिन सक्ने प्रलोभन देखाएको प्रहरीले बताएको छ। उनीहरूले विदेशबाट अन्तर्वार्ता लिन मानिस आएका समेत बताएर क्यानडा जानको लागि प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र अन्तरवार्तामा सफल भएपछि उक्त रकम दिनुपर्ने माग गरेको पाइएको छ।
अन्तर्वार्ताका लागि प्रतिव्यक्ति दुई हजार रुपैयाँ लाग्ने भन्दै रकम उठाइरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पनि कास्की प्रहरीले बताएको छ।
क्यानडा पठाइदिन्छु भनी ३० लाख रुपैयाँ माग गर्ने २ विदेशी सहित ६ जना पक्राउ
माघ १२, २०८०




