बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

७० वर्ष काटेका ज्येष्ठ नागरिकलाई ब्रह्माण्डीय महायज्ञमा लैजाँदै जलजला

फाल्गुन १२, २०८०

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले ७० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकहरूलाई धार्मिक भ्रमण गराउने भएको छ।
गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार गाउँपालिकाका ज्येष्ठ नागरिकहरूलाई गत फागुन नौ गतेदेखि २५ गतेसम्म बागलुङको बागलुङ नगरपालिका–६ पञ्चकोटमा चलिरहेको अनन्त श्री ब्रह्माण्डीय महायज्ञमा धार्मिक भ्रमण गराउन लागिएको हो।
गाउँ कार्यपालिकाको बैठकले नै निर्णय गरेर गाउँपालिकाका नौ वटै वडाका ७० वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकहरूलाई आउँदो फागुन १६ गते निःशुल्क रूपमा धार्मिक भ्रमणमा लैजान लागिएको हो। धार्मिक भ्रमणमा जान इच्छुक भई स्वास्थ्य अनुकूल रहेका तथा पारिवारिक सहमति भएका ज्येष्ठ नागरिकहरूको विवरण फागुन १३ गतेभित्रमा सम्बन्धित वडामा सङ्कलन गरिँदै छ।
सम्बन्धित वडाहरूमा सङ्कलन भएका विवरणहरूका आधारमा गाउँपालिकामा सिफारिस गरी पठाएपछि उनीहरूलाई भ्रमणमा लैजाने तयारी छ। गाउँपालिकाका अध्यक्ष आचार्यका अनुसार उक्त महायज्ञमा जानको लागि गाउँपालिकाका धेरै ज्येष्ठ नागरिकहरूले इच्छा प्रकट गरेका छन्।
‘पञ्चकोटधाम यस क्षेत्रकै लोकप्रिय धार्मिक तथा पर्यटकीय स्थल हो। जलजला गाउँपालिकाबाट पारी पट्टी रहेको पञ्चकोटमा धार्मिक भ्रमणको लागि ज्येष्ठ नागरिकहरूले पनि इच्छा देखाउनुभएकोले उहाँहरूको इच्छा अनुसार भ्रमण गराउन लागिएको हो’, उनले भने, ‘एक दिन मात्रै पनि धार्मिक भ्रमण गराउन सकियो भने उहाँहरूलाई सन्तुष्टि हुन्छ। धार्मिक परम्परा जोगाउने हामी सबैको दायित्व पनि हो। पाको पुस्ताबाट धर्म र संस्कृतिको स्थानान्तरणको लागि पनि यो कार्यक्रम उपयोगी हुने छ।’
सर्वसिद्धीधाम पञ्चकोट पवित्र मुक्ति क्षेत्र, शालग्रामबाहिनी कृष्ण गण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा रहेको छ। धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा महायज्ञ चलिरहेको हो।  पञ्चकोटधाम स्थापनाको १० औँ वार्षिकोत्सव पारेर आयोजना गरिएको महायज्ञबाट वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा छ।
महायज्ञका परिकल्पनाकार एवं पञ्चकोटधामका संस्थापक स्वामी कमलनयनाचार्यले प्रसिद्ध मुक्ति क्षेत्र र शालिग्रामको महिमालाई विश्वस्तरमा पु¥याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दु समाजलाई प्रेरित गर्न, नेपालको जल सम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दु धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान् नेपाली समाजको पुनर्जागरण गर्न नेपालमै पहिलो पटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको बताउँछन्।
महायज्ञमा २५ फिटको मौलो बनाई विधिपूर्वक पूजन गरी प्रतिस्थापन गरिने र त्यसलाई धानले पुर्ने कार्यक्रम छ।  यसका लागि करिब २१ हजार पाँच सय ५५ क्विन्टल धान लाग्ने अनुमान गरिएको छ। धानका अतिरिक्त तिल, जौ, गहुँ, मकै, चनालगायतका विभिन्न नौ प्रकारका अन्नको पर्वत पनि बनाइँदै छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive