पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङका कृषकहरूलाई कृषिमा अभिप्रेरित गर्न स्थानीय तहले समेत केही खर्च बेहोर्ने गरी मिनि टिलर उपलब्ध गराइएको छ ।
व्यावसायिक रूपमा कृषिमा लागिरहेका तथा लाग्न इच्छुक कृषकहरूको व्यावसायिकतामा सघाउने गरी २५ वटा पावर टिलर वितरण गरिएको हो । पावर टिलर आवश्यक परेका कृषकहरूलाई वडामा दरखास्त दिन आह्वान गरिएकोमा एक सय ५० जनाको निवेदन परेको थियो ।
क्षमताभन्दा धेरै कृषकहरूको दरखास्त परेपछि नभई नहुने, ठुलो ट्र्याक्टरको प्रयोग गर्न नसकिने भौगोलिक क्षेत्र, यस अगाडि यस्तै प्रकृतिको सुविधा नलिएका लगायतका मापदण्डको आधारमा कृषकहरू छनोट गरेर पावर टिलर वितरण गरिएको वडा कार्यालयले बताएको छ । कस्तो पावर टिलर लिने र त्यसमा कति लगानी गर्ने भन्ने कुरा पनि कृषकहरूकै इच्छा अनुसार भएको र त्यसमा नगरपालिकाको तर्फबाट अनुदानका रूपमा प्रति कृषक २० हजार रुपैयाँ प्रदान गरिएको पनि वडा कार्यालयले बताएको छ ।