मङ्लबार, फाल्गुन २७, २०८१
Tuesday, March 11, 2025

कार्कीनेटाका पहिरो पीडितलाई पर्वत रेडक्रसको राहत

पर्वत : पहिरोमा परेर गत शनिवार निधन भएका पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटा र स्याङ्जाका दुई जना युवाका परिवारजनलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतले राहत सामग्री वितरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमाल सहित पुगेको समूहले दुवै जनाको निधनमा शोक व्यक्त सहित दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार र आफन्तजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गरेका छन् ।
गत शनिवार दिउँसो गोठमाथिबाट आएको पहिरोले गोठसहित बगाउँदा फलेवास नगरपालिका–१ कार्कीनेटा स्थित टिमुरबोटका ४० वर्षीय झलक पौडेल र स्याङ्जाको आँधिखोला गाउँपालिका–३ का ३३ वर्षीय तुलसीराम पौडेलको मृत्यु भएको थियो ।
राहत सामग्री वितरण सहित शोक व्यक्त गर्न रेडक्रस पर्वतका सभापति रिमाल सहित रेडक्रसको शंकरपोखरी थापाठाना उपशाखाका सभापति राजेश थापा, नेपाली काँग्रेस पर्वतका उपसभापति शिव प्रसाद सुवेदी, मुस्लिम संघकी केन्द्रीय सदस्य सनम बेगम, नेपाली काँग्रेस प्रदेश सभा ‘क’ का सभापति राजकुमार क्षेत्री, कुश्मा नगर कार्यसमितिका सभापति किशोर भण्डारी, कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त शर्मा, नेपाली काँग्रेस कार्कीनेटाका सभापति देवीप्रसाद पाध्या, रेडियो शालिग्रामका स्टेसन म्यानेजर गोविन्द अधिकारी लगायत स्वर्गीय तुलसीरामको घरमा पुगेका हुन् ।
त्रिपाल, भाँडा, अन्न, लगायतका राहत सामग्रीहरू प्रदान गर्दै रेडक्रस पर्वतका सभापति रिमालले रेडक्रसले उपलब्ध गराएको राहत पूर्ण नभए पनि दुःखको बेलामा तत्कालीन राहतले सहयोग पुग्ने विश्वास व्यक्त गरे । रेडक्रस जहिले पनि मानवीय सहायताका लागि तयार रहेको उनले बताए ।
नेपाली काँग्रेसका उपसभापति सुवेदी सहितका व्यक्तिहरूले प्राकृतिक विपद्का कारण दुई युवालाई गुमाउनुपरेकोप्रति दुःख र शोक व्यक्त गर्दै थप सतर्कताका साथ रहन सबैलाई अनुरोध गरे ।
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive