पर्वत : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको आयोजनामा सरोकारवालाहरूसँग डेंगु सङ्क्रमण सम्बन्धी अभिमुखीकरण तथा दसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
पर्वत जिल्लामा एक हजार एक सय भन्दा बढी व्यक्तिहरूमा सङ्क्रमणको पुष्टि भएको तथा पर्वत अस्पतालमा डेंगुका बिरामीहरूले शय्या भरिइरहेको अवस्था छ । यही अवस्थाको अन्त्य गर्ने प्रयासका लागि रेडक्रसले सरोकारवालाहरूसँग अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर नियन्त्रणका लागि गर्न सकिने अभ्यासहरूको बारेमा छलफल गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले दसैँको बेलामा हरेक कार्यालयका सवारीहरू पालो अनुसार जिल्ला प्रशासन कार्यालयमा तयारी अवस्थामा रहने बताउनुभयो । डेंगुको प्रसङ्गबारे बोल्दै उहाँले संविधान दिवसको अवसरदेखि अन्य समयमा पनि विशेष अभियानहरू चलाएर डेंगु नियन्त्रणको लागि कामहरू गरिएको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमालले डेंगु नियन्त्रणका लागि रेडक्रसले विभिन्न अभियानहरू चलाइरहेको र त्यसमा डेनिस रेडक्रसले सहयोग गरिरहेको बताउनुभयो । दसैँको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले दसैँकै अवसर पारेर जिल्ला प्रहरी कार्यालयमा रक्तदान कार्यक्रम गर्न लागिएको पनि जानकारी गराउनुभयो ।
यस्तै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले डेंगु नियन्त्रणका लागि नगरपालिकाले सक्रियताका साथ काम गरिरहेको बताउँदै आवश्यक समन्वय गरेर थप कार्यक्रमहरू गर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन विष्टले डेंगुको सचेतना तल्लो तहसम्म लैजानुपर्ने बताउनुभयो । चाडबाडको बेलामा हुन सक्ने सुरक्षा चुनौतीको विषयमा आफूहरू जिम्मेवार तरिकाले लागिरहेको भन्दै उहाँले सुरक्षाका लागि सबैको सकारात्मक सहयोगका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै पर्वत अस्पतालका तर्फबाट डा. मिलन अवालेले डेंगुको सङ्क्रमण, अवस्था र रोकथामका उपायका बारेमा जानकारी गराउनुभएको थियो । यस्तै कुश्मा नगरपालिका–७ का वडाध्यक्ष परशुराम पुरीले डेंगुको रोकथामका लागि जनप्रतिनिधिहरूले गरिरहेको प्रयासका बारेमा जानकारी गराउनुभयो ।
सोही कार्यक्रमको अवसरमा पारेर कुश्मा नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा आउनुभएका नेत्र प्रसाद पौडेल र प्रहरी नायव उपरीक्षक विष्टलाई सफल कार्यकालको शुभकामना सहित स्वागत र बधाई ज्ञापन गरिएको छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत विजय पौडेल, कुश्मा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू दिनेश श्रेष्ठ, रामहरि शर्मा, सुरेन्द्र के.सी, राम शर्मा लामिछाने लगायतको पनि उपस्थिति रहेको थियो ।
पर्वत रेडक्रसका सभापति रिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपसभापति गोविन्दप्रसाद उपाध्यायले राख्नुभएको थियो ।
पर्वत रेडक्रसमा डेंगुको अभिमुखीकरण सहित शुभकामना कार्यक्रम सम्पन्न
