पर्वत : पर्वत जेसीजको आयोजनामा भएको स्लो बाइक तथा स्कुटर रेस प्रतियोगितामा फलेवासका नीरज कुँवर प्रथम भएका छन् ।
जेसीज सप्ताह–२०२४ अन्तर्गत मङ्गलवार कुश्माको धनेश्वर चोकमा आयोजना गरिएको प्रतियोगितामा कुँवरले निर्धारित दूरी सबैभन्दा ढिला एक मिनेट ५७ सेकेन्डमा पार गरेका थिए । यस्तै एक मिनेट ५१ सेकेन्डमा दूरी पार गरेर कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका रबी के.सी दोस्रो भएका छन् ।
अन्य ७० जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै पहिलो दोस्रो भएका उनीहरूलाई पुरस्कार स्वरूप क्रमशः १० लिटर र पाँच लिटर पेट्रोल प्रदान गरिएको कार्यक्रमका संयोजक प्रवेशराज पुरीले बताए । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टले पुरस्कार हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै उनले मोटरसाइकल तीव्र गतिमा नचलाउनको लागि कार्यक्रमले सन्देश दिएको बताए । धेरै दुर्घटनाहरू तीव्र गतिमा सवारी चलाएका कारण हुने गरेको भन्दै उनले सामान्य गतिमा सवारी हाँकेर सबैको जीवनको सुरक्षा गर्न सबैमा अनुरोध गरे । सोही अवसरमा ट्राफिक सचेतना कार्यक्रम पनि सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सिताराम ओझाले ट्राफिक नियमहरूसँग सम्बन्धित सामग्रीहरू प्रदर्शन गर्दै सवारी चालक र पैदलयात्रीहरुलाई ट्राफिक नियमको पालना गर्न अनुरोध गरे ।
कार्यक्रममा पर्वत जेसीज बर्स २०२४ का अध्यक्ष जेसी मिलन पौडेल, ट्राफिक प्रहरी प्रमुख, पर्वत जेसिज अध्यक्षीय क्लबका अध्यक्ष विनोदकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरू विष्णु नेवार, प्रेम कुमार गुरुङ, उषा चापागाईँ लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । सप्ताह अन्तर्गत अब आगामी मङ्सिर दुई गते बिहान पर्वत कारागारमा कैदी बन्दीहरूका लागि पुस्तक हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ ।