पर्वत : लगातारको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएका पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीको एक बृद्ध दम्पतिका शव फेला परेका छन् ।
शनिवार रातीदेखि नै भइरहेको अविरल बर्षासँगै आइतबार बिहान करिब चार बजेको समयमा घरमाथिबाट पहिरो आउँदा एक बृद्ध दम्पति घरमा नै पुरिएका थिए । पहिरोमा परी घरमै रहेका ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ बर्षिया विष्णुमती वि.क. बेपत्ता भएका थिए ।
घट्नास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पर्वतका सुचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार पहिरोमा परिवारका सदस्यहरु पुरिएको थाहा पाएपछि स्थानीयले आइतबार बिहानैदेखि उनीहरुको खोजी थालेका थिए । बिहान करिब सवा नौ बजेको समयमा छविलालको शव पहिरोस्थलमा नै फेला परेकोमा उनकी श्रीमतीको शव आइतबार दिउसो भेटिएको हो । उनीहरु दुवै जनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल पर्वतमा राखिएको छ भने उनीहरुको पोस्टमार्टम सोमबार हुन सक्ने छ ।
उद्धारको लागि जिल्ला प्रहरी कार्यालय पर्वत र डिमुवा प्रहरी चौकीबाट प्रहरी टोली परिचालन भएको थियो । घट्ना भएको गाउँमा पुग्ने सडक अवरुद्ध हुँदा गाउँमा जान समस्या भएको समेत प्रहरी निरीक्षक सापकोटाले बताए । सोही घरमा रहेकी छविलाल दम्पतिकी बुहारी ३२ वर्षिया पवित्रा बि.क. भने पहिरोमा परेर घाइते भएकी छिन् । पहिरोमा परेर ढाड र कोखमा चोट लागेकी उनको प्रादेशिक अस्पताल पर्वतको आकस्मिक उपचार कक्षमा उपचार चलिरहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए ।
पर्वत सहित आसपासको क्षेत्रमा शनिवार रातीदेखि अति भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले यस क्षेत्रमा बाढी पहिरोको जोखिम रहेको तथा नदी र खोलाहरुमा उच्च बहाव आउन सक्ने भन्दै एस.एम.एस.मार्फत चेतावनी पनि जारी गरेको थियो । चेतावनी जारी गरिएको सूचना आउने समयमा उक्त घट्ना घटीसकेको थियो ।
शनिवार रातीदेखि पर्वत लगायत आसपासका क्षेत्रमा भारी तथा अति भारी वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार राती पनि केही स्थानहरूमा यसरी नै मेघगर्जन र चट्याङ सहित धेरै पानी पर्ने सम्भावना रहेको छ । पर्वत म्याग्दी लगायत आसपासका क्षेत्रमा बादल लागेर केही ठाउँहरुमा मेघगर्जन चट्याङ्ग सहित मध्यम देखिधेरै पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान, बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने जोखिम रहेको छ । दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा खोला किनारका बासिन्दाहरु प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन विभागले अनुरोध गरेको छ ।
यसैबीच, लगातारको भारी वर्षासँगै रुख ढलेर विद्युतीय ’लाइन’ मा परेपछि पर्वत जिल्लाका बिभिन्न स्थानहरूमा विद्युत सेवा अवरुद्ध भएकोमा आइतबार दिउसोदेखि पुनः सञ्चालन भएको छ ।
नेपाल विद्युत प्राधिकरणको पर्वत वितरण केन्द्रका अनुसार जिल्लाकै मोदी खोला सवस्टेशसनदेखि कुश्मा सवस्टेशनसम्म विद्युत ल्याउने ३३ किलोभोल्टको लाइनमा रुख परेपछि आइतबार बिहानदेखि विद्युत सेवा अवरुद्ध भएको थियो ।
वर्षा र विपद्को बेलामा झनै विद्युत अवरुद्ध हुँदा सञ्चार तथा अन्य मानवीय सहायताका लागि कठिन हुने भएकोले समस्या आएको ठाउँमा प्राबिधिकहरूले कठिनाईपूर्वक काम गरेर अवरुद्ध विद्युत सेवा पुनः सञ्चालन गर्न सकिएको केन्द्रले बताएको छ ।
पर्वतको पहिरोमा पुरिएका दम्पति मृत भेटीए, अवरुद्ध विद्युत पनि सञ्चालन
साउन ४, २०८२




