पर्वत : जिल्लाको प्रमुख स्वास्थ्य संस्थामा रूपमा रहेको प्रदेश अस्पताल पर्वतको प्रयोगशालामा नयाँ परीक्षणहरू थप गरिएसँगै बिरामीहरू आधुनिक परीक्षणको खोजीमा जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ।
अस्पतालको प्रयोगशालामा हालसम्म उपलब्ध हुँदै आएका परीक्षण सम्बन्धी सेवाहरूले मात्रै स्वास्थ्य परीक्षण पर्याप्त नभएको अवस्थामा बिरामीहरू आधुनिक र थप जाँचका लागि पोखरा वा अन्य ठाउँमा रहेका अस्पतालहरूमा जानुपर्ने बाध्यता रहेको थियो। स्वास्थ्य बिमाका बिरामीहरूको लागि केन्द्रका रूपमा समेत रहेको अस्पतालमा हालै मात्रै थपिएका प्रयोगशाला सम्बन्धी सेवाहरूले धेरै बिरामीहरूलाई जिल्लाकै उपचारले थप राहत दिन सक्ने भएको छ।
गण्डकी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयको प्रादेशिक स्वास्थ्य निर्देशनालयमार्फत थप भएका १२ प्रकारका परीक्षणहरूले पर्वत सदरमुकाम कुश्मामा नै विभिन्न रोगहरूको परीक्षण तथा स्वास्थ्य अवस्थाको बारेमा जान्न सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए।
उनका अनुसार नयाँ थप गरिएका परीक्षण सेवाहरूमा भिटामिन डी, भिटामिन बी–१२, पीएसए, बी–एचसीजी, एन्टी टिपिओ, आइरन प्रोफाइल, एएनए, एन्टी डीएसडीएनए, फेरिटिन, सीआरपी क्वान्टिटेटिभ, आरए क्वान्टिटेटिभ तथा रेटिकुलोसाइट काउन्ट जस्ता विश्लेषणात्मक परीक्षणहरू समावेश गरिएका छन्।
भिटामिन डी को परीक्षणबाट शरीरमा यसको मात्रा हेरेर हड्डी कमजोर हुने, थकान, मांसपेशी दुख्ने, प्रतिरोधात्मक क्षमतामा कमी, भिटामिन बी १२ बाट हातखुट्टा झनझनाउने लगायत न्यूरोलोजिकल समस्याहरू, रक्त अल्पता, मानसिक भ्रम वा थकान जस्ता रोगहरूको परीक्षण हुने छ।
यस्तै प्रोस्टेट स्पिसीफिक एन्टीजेनको परीक्षणबाट पुरुषमा प्रोस्टेट ग्रन्थिमा हुने परिवर्तनको बारेमा जानकारी लिएर प्रोस्टेट क्यान्सर हुने, प्रोस्टेट बढ्ने, प्रोस्टेटमा सङ्क्रमण, बेटा ह्युमन क्रोनिक गोनाडोट्रोपिनबाट एच.सी.जी हर्मोनको मात्रा हेरेर गर्भावस्था पुष्टि, असामान्य गर्भ तथा केही प्रकारका क्यान्सरहरूको बारेमा पत्ता लगाउन सकिन्छ।
एन्टी टी.पी.ओ (थाइरोइड पोरोक्साइडेज एन्टीबोडी) परीक्षणबाट थाइराइड ग्रन्थिमा भइरहेको अटो इम्युन प्रतिक्रियाको बारेमा परीक्षण गरेर हाइपोथाइराइडिज्म, हाशिमोटो थाइराइडिटिस, ग्रेव्स डिजिज जस्ता रोगहरूको बारेमा जानकारी लिन सहयोग पुग्ने छ। शरीरमा फलाम बढी हुने हेमोक्रोमाटोसिस, थकान, सास फेर्न गाह्रो हुने, आइरन डिफिसिएन्सी एनेमिया जस्ता समस्याहरू पत्ता लगाउन आइरन प्रोफाइल परीक्षण पनि अब जिल्लामा नै सम्भव भएको छ। एन्टी न्यूक्लियर एन्टीबोडीमार्फत शरीरको अटो इम्युन प्रतिक्रियाको बारेमा परीक्षण गरेर ल्युपुस, रुमेटोइड अर्थराइटिस लगायतका रोगहरूको जाँच गर्न सकिने छ।
यस्तै एन्टी डी.एस डी.एन.ए बाट ल्युपसमा देखिने विशेष प्रकारको अटोएण्टीबडीको बारेमा जानकारी लिन सकिने, फेरिटिनको परीक्षणबाट शरीरमा फलामको भण्डारण अवस्था र यससँग सम्बन्धित आइरन डिफिसिएन्सी, क्रोनिक डिजिज एनेमिया, हेमोक्रोमाटोसिस जस्ता रोगहरूको निदान गर्न सकिने छ। सि.आर.पी क्यान्टीटेभीको परीक्षणबाट शरीरमा भएको इन्फ्लमेसनको मात्राको बारेमा जानकारी लिएर संक्रमण, अटो इम्युन रोग तथा हृदय रोगको जोखिमको बारेमा चिकित्सकले थाहा पाउने छन्।
आर.ए क्वान्टीटेटीभ परीक्षणबाट रुमेटोइड अर्थराइटिससँग सम्बन्धित एण्टीबडीको बारेमा जानकारी लिएर रुमेटोइड अर्थराइटिस, अन्य अटो इम्युन रोगहरूको निदान तथा रेटीकुलोसाइट गणनाबाट नयाँ रगतको कोष बन्ने दरको बारेमा थाहा पाएर एनेमिया भएपछिको रगत उत्पादन, बोन म्यारोको कार्य क्षमता तथा थकान÷रक्तस्रावपछि निको हुने दरको उपचार गर्न सकिने मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले बताए।
यी परीक्षणहरूबाट विशिष्ट स्वास्थ्य समस्याको पहिचान गर्न सहज हुने अस्पताल प्रशासनले बताएको छ। यस सुविधा मार्फत कुश्मा तथा आसपासका जिल्लाका सर्वसाधारणले उपत्यका वा अन्य सहर जानुपर्ने झन्झट बिना अत्याधुनिक ल्याब परीक्षण सेवा सुलभ रूपमा प्राप्त गर्न सक्नेछन्।




